भक्तपुर क्याम्पसमा नगरपालिकाको डोजर : मन्त्रीले पोखे आक्रोश

२०८१ कार्तिक ११ आइतबार १३:५७:०० मा प्रकाशित

भक्तपुर।  बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर नगरपालिकाले भक्तपुर क्याम्पसमा डोजर चलाएकोमा आक्रोश व्यक्त गरेका छन्।  

आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको “स्वास्थ्य र फोहोर व्यवस्थापन विषयक” अन्तरक्रिया कार्यक्रममा बोल्दै, “के भक्तपुर क्याम्पस कुनै व्यक्तिको निजी सम्पत्ति हो ? त्यो त आम भक्तपुर बासीको सम्पत्ति हनी, आज त्यहाँ करिव ६ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययन गर्छन।  उहाँहरूको आवश्यकतालाई परिपूर्ति गर्नको लागि भक्तपुर क्याम्पसको त्यो पर्खाल भत्काउन डोजर चलाइनु आवश्यक थियो र ? भक्तपुर क्याम्पसले त्यहाँ जग्गा अतिक्रमण गरेको भए त्  ठिकै थियो तर त्यो त् हामीले थाहा पाएदेखि नै क्याम्पसको जग्गा हो।  परापूर्वकालमा नै त्यहाँ  क्याम्पसको जग्गा भएकोले त्यो भत्काउनु ठिक छैन।  यसको मारमा आम भक्तपुर बासी नै पर्ने देखिन्छ, त्यही भक्तपुर क्याम्पस पनि भक्तपुर नगरपालिकाको पनि होनी, त्यसको सञ्चालनको विधि र पद्धति फरक भएपनि त्यहाँ डोजर चलाएर नगरपालिकाले गम्भीर गल्ति गर्यो ” उनले भने। मन्त्री थापाले अनावश्यक रुपमा डोजर चलाएर नगरपालिकाले ६ हजार विद्यार्थीको भावनामा समेत ठेस पुर्याएको बताए।  

उनले आफू स्वास्थ्य मन्त्री भएपछि सम्पूर्ण प्रादेशिक अस्पताललाई सुधार गर्न लागिरहेको बताए।  उनले आफूले मन्त्रालय सम्हालेपछि  थप जनशक्तिको व्यवस्थापन गरेर अस्पतालहरूमा कर्मचारी व्यवस्थापन गरेको बताए।  उनले भक्तपुर अस्पताल यसपटक पनि पहिलो नम्बरमा परेको स्मरण गर्दै अस्पताललाई सिटिस्क्यान मेसिन खरिद गर्न ८ करोड रुपैयाँ बजेट भएपनि नगरपालिकाले जग्गा नमिलाइदिएर राजनीति गरेको बताए।  उनले भने, “ म आफैं २ पटक भक्तपुर नगरपालिकाको मेयरसँग भेट गरेर जग्गा मिलाइदिन आग्रह गर्दा आनाकानी गर्नुहुन्छ।” थप रुपमा उनले भक्तपुर अस्पतालमा बाँकी  थप जग्गामा सिटिस्क्यान राखेर सुविधासम्पन्न बनाउनमा भक्तपुर नगरपालिका नै बाधक भएको बताए।  उनले यस किसिमको रवैयाले भक्तपुर नगरपालिका विकासमा ५० वर्ष पछि धकेलिने चेतावनी समेत दिए।  

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय भक्तपुरका कार्यालय प्रमुख शान्तिराम खतिवडाले अहिले उपत्यका सहित देशभरमा डेङ्गुको प्रकोप फैलिएको हुनाले सचेत रहन आग्रह गर्दै उनले भने, “डेङ्गु एक गम्भीर प्रकृतिको रोग हो, यसले ज्यानै समेत जानसक्छ।  डेङ्गु एक पटक लागिसकेको मानिसलाई पछि फेरी लग्यो भने त्यो व्यक्ति जीवन र मृत्युको दोसाँधमा पुग्छ। ” डेङ्गुखतरनाक रोग भएकोले उनले आफू बस्ने र आफ्ना वरपरका वातावरण सफा राख्न आग्रह गरे।  

त्यसैगरी कार्यक्रममा बोल्दै नेप्सेम्याकका प्रबन्ध निर्देशक बाबुराम चौलागाइँले आफ्नो संस्था वातावरण स्वच्छता कायम गर्न सक्रियताको साथ लागेको बताए। उनले फोहोर व्यवस्थापन गर्ने आफ्नो सवारी ग्रामीण क्षेत्रमा हप्तामा १ र सहरी क्षेत्रमा हप्तामा २ पटक जाने गरेको बताए।  

नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिवक्ता केदार अधिकारीले विषय उठान गरेका थिए।