देवकोटा जन्मजयन्तीको अवसरमा सूर्यविनायकमा कवि गोष्ठी

२०८१ कार्तिक १४ बुधबार १३:१५:०० मा प्रकाशित

भक्तपुर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तिको अवसरमा भक्तपुरको सूर्यविनायकमा कवि गोष्ठी सम्पन्न भएको छ। नेपाल प्रेस सोसाइटीको सभाहलमा भएको कार्यक्रममा देशका विभिन्न साहित्यप्रेमी र कविहरुले महाकवि देवकोटाको योगदानलाई स्मरण गर्दै कविता वाचन गरे।

कार्यक्रमका प्रमुख अतिथि अभिनव व्यासले महाकवि देवकोटाको साहित्यिक योगदानको प्रशंसा गर्दै भने, “देवकोटा नेपाली साहित्यको आधार स्तम्भ हुनुहुन्छ। उहाँको सृजनामा नेपाली समाज, प्रकृति, र मानवताका गहिरा भाव व्यक्त भएका छन्, जसले हाम्रो चेतनामा सधैं स्थान लिइरहन्छ।” उनले देवकोटाको साहित्यले समाजमा प्रेम र सहानुभूतिका गहिरा सन्देश बोक्ने उल्लेख गरे।

विशिष्ट अतिथि डम्बर घिमिरेले देवकोटालाई उच्च सम्मान गर्दै भने, “महाकवि देवकोटाले नेपाली साहित्यमा जुन योगदान पुर्‍याउनुभयो, त्यसले नेपाललाई अन्तर्राष्ट्रिय साहित्यिक जगतमा सम्मान दिलाएको छ। उहाँका सिर्जनामा रहेको मानवीय भावना र सांस्कृतिक जरा अहिले पनि सान्दर्भिक छन्।”

त्यसैगरी साहित्यकार छन्दविज्ञान निरौलाले भने, “देवकोटा केवल एक कवि मात्र नभएर जीवनका अनेक आयामलाई साहित्यमा समेट्ने दूरदर्शी प्रतिभा हुनुहुन्थ्यो। उहाँका रचनाले हामीलाई विचार, प्रेम, र आशाका मार्गदर्शन प्रदान गर्छन्।”

कार्यक्रममा सहभागी कविहरु—केशव लुइँटेल, गुरु प्रसाद घिमिरे, कृष्ण बहादुर भुजेल, नरेश दुलाल, डिल्ली प्रसाद मुल्तिहुन, सालिकराम दाहाल लगायतले देवकोटाको सम्मानमा कविता वाचन गरेका थिए ।

उक्त कार्यक्रममा सबै सहभागी कविहरुले महाकवि देवकोटाको फोटोमा माल्यार्पण गर्दै श्रद्धासुमन समेत अर्पण गरेका थिए ।