जनस्वास्थ्य कार्यालय भक्तपुरको पत्रकार तथा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया सम्पन्न

२०८१ कार्तिक २५ आइतबार १८:५३:०० मा प्रकाशित

भक्तपुर। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले "स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुको पत्रकार तथा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया" कार्यक्रम सम्पन्न गरेको छ। 

आइतबार जनस्वास्थ्य कार्यलयमा आयोजित कार्यक्रममा विभिन्न स्वास्थ्य चुनौतीहरूबारे जानकारी आदानप्रदान गर्नुका साथै जनस्वास्थ्य कार्यालयले गरेको प्रगतिको बारेमा छलफल गरिएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले हालको डेंगु रोगको गम्भीरता र सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै भने, "सामुदायिक स्तरमा डेंगु रोगको बारेमा जनचेतना फैलाउने कार्यमा पत्रकारहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउनु पर्दछ। यो समय डेंगु नियन्त्रणको लागि जनचेतना र सहयोग आवश्यक रहेको छ।"

जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले डेंगु रोगको रोकथाममा समुदायको सहयोग महत्त्वपूर्ण रहेको औंल्याउँदै भने, "हामी प्रत्येक व्यक्तिले आफ्नो वरपर सफा राख्नु, पानी जम्न नदिनु, र लामखुट्टेको लार्भा नियन्त्रण गर्नु आवश्यक छ।"  कार्यालयले यसको लागि अभियान सञ्चालन गरिरहेको बताउंदै यसमा स्थानिय सरकार सहित सबै जनताको सहभागिता चाहिएको बताए।"

त्यसैगरी, जनस्वास्थ्य अधिकृत दिपक अच्छामीले हाल भक्तपुरमा बढ्दो डेंगु संक्रमितहरूको अवस्थाबारे जानकारी दिँदै भने, "चिसोको समयमा पनि दैनिकरुपमा नयाँ केसहरू थपिँदै गईरहेकोले डेंगु नियन्त्रणको लागि स्थानीय तह, अस्पताल, र सञ्चार क्षेत्रसँग सहकार्य आवश्यक छ। साथै, जनताले सचेतना अपनाउन आवश्यक छ।"

कार्यक्रममा स्वास्थ्यकर्मी र पत्रकारहरूले पनि आफ्ना अनुभव र सल्लाहहरु आदानप्रदान गरेका थिए, जहाँ धेरैले स्वस्थ्य कार्यालयलाई समुदायसँग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रमलाई अझ व्यापक बनाउने सुझाव दिएका थिए ।