देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् ।
कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी र सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए ।
यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए । “हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौँ । गरिबी हटाएर मात्रै सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोचित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुुछ”, प्रधानमन्त्री ओलीले भने, “नागरिक सर्वोच्चता भएको यस प्रणालीमा रहेर समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ । रोजगारीका अवसरमा सृजना गर्न चाहन्छौँ । त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुुपरेको छ । त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बडाउने हो । संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ ।’’
प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन गरेर विविधताबीच एकता कायम गर्दै गौरवपूर्ण इतिहास भएको नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे । यसअघि प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहलाई सम्बोधन गरेका थिए ।