फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

२०८१ चैत ३ सोमबार १६:४३:०० मा प्रकाशित

बन्दीपुर । यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरेकी छन् ।

फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेका छन् । हाल उनले मासिक रु दुई लाख आम्दानी लिने गरेको गुरुङले बताइन् ।

गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै रु २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक रु आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब रु दुई लाख बचत हुने उनले बताइन् ।

“पोखरा र काठमाडौंमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौंमा नयाँ शाखा खोल्ने तयारी गरेका छौं” गुरुङले भने । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन् ।

“व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउँनेछौं,” उनले भनिन् ।