साँझको समयमा लोडसेडिङ हुने अवस्था छ : ऊर्जामन्त्री

६ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ हुने अवस्था अहिलेपनि रहेको बताएका छन् ।
अहिले पनि ८२५ मेगावाट विद्युत् आयात गरेर नेपालको आपुर्ति धानिरहहेको बताउँदै ऊर्जामन्त्री खड्काले भारतबाट आयातित विद्युत्का कारण लोडसेडिङ हटेजस्तो भएको जिकिर गरे ।
‘हिजो पनि लोडसेडिङ थियो, आजपनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ,’ ऊर्जामन्त्री खड्काले भने, ‘हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ । निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युत्ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभुति भएको छ ।’
मन्त्री खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको पनि जिकिर गरे ।