गौतम अदानी बने एसियाकै सर्वाधिक धनी

२०८० पौष २० शुक्रबार ११:१४:०० मा प्रकाशित

नयाँ दिल्ली । भारतीय व्यापारी गौतम अदानी भारत र एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । गएको २४ घन्टामा ७ अर्ब ६७ करोड डलर नेटवर्थ थपिएसँगै अदानीको कूल नेटवर्थ ९७ अर्ब ६० करोड डलरमा उक्लिएको छ ।

 

 

 

बिहीबार आदनी ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्समा १४ औं स्थानमा थिए । तर शुक्रबार उनी मुकेश अम्बानीलाई उछिनेर ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा १२ औं स्थानमा पुगेका छन् । अम्बानी भने ९७ अर्ब डलरसहित सूचीको १३ औं स्थानमा थिए । गएको २४ घन्टामा अम्बानीको नेटवर्थ ६६ करोड ५० लाख डलरले बढेको छ ।

अमेरिकी शर्ट सेलर कम्पनी हिडनबर्गले गएको वर्ष अदानी समूहभित्र चलखेल, धोकाधडीबारे एउटा सयौं पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेपछि अदानी समूहको शेयरमा व्यापक कमी आएको थियो । समूहले ३ खर्ब ५२ अर्ब भारु बराबरको बजार पूँजीकरण गुमाएको थियो । पछिल्ला महिनाहरुमा उक्त प्रतिवेदनको प्रभावबाट केही कमी आएको भएपनि प्रभाव सकिएको थिएन । यो विषयमा अदानी समूहले हिन्डेनबर्गमाथि मुद्दानै हालेको थियो ।