सरकार बदल्न पाइन्छ : गृहमन्त्री लेखक

२०८२ बैशाख ५ शुक्रबार १५:४४:०० मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतान्त्रिक संविधानलाई समाप्त पार्ने अधिकार कसैलाई पनि नभएको जिकिर गरेका छन् । पाँचरपाँच वर्षमा आवधिक निर्वाचनमा गएर आफूलाई मन लागेको पार्टी र नेतालाई जिताउन पाइने भन्दै उनले लोकतन्त्रभित्रै बसेर आफ्ना गतिविधि गर्न उनले आग्रह गरे ।

‘सरकार बदल्न पाइन्छ । पाँच पाँच वर्षमा आवधिक निर्वाचनमा गएर आफूलाई मन लागेको पार्टी र नेतालाई जिताउन पाइन्छ र हराउन पाइन्छ,’ गृहमन्त्री लेखकले भने, ‘तर लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन, च्यात्न पाइँदैन भत्काउन पाइँदैन फाल्न पाइँदैन । लोकतन्त्रभित्र बसेर आफ्ना सबै गतिविधि गर्न पाइन्छ ।’

शुक्रबार पोखरामा गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा भइरहेका प्रदर्शनलाई इंगित गर्दै लोकतन्त्रभित्र बसेर आफ्ना गनिविधि गर्नुपर्नेमा सचेत गराए ।

जबरजस्ती र विध्वंसात्मक गतिविधिले देशलाई अस्थिरतातर्फ लैजाने भएकाले यसतर्फ सबैले सचेत हुनुपर्ने उनको भनाइ थियो ।