यातायात महासंघले भन्यो : माइतीघर–बानेश्वर सडक सुचारु नगरे गाडी तेर्स्याउँछौँ

काठमाडौं । माइतीघर–बानेश्वर सडकमा १७ दिनदेखि शिक्षक महासंघको आयोजनामा शिक्षकहरूको आन्दोलन जारी छ । आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएको छ ।
महासंघले जिल्ला प्रशासन कार्यालयमार्फत अवरुद्ध सडक सुचारु गरिदिन माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।
महासंघका महासचिव भरत नेपालले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई ज्ञापनपत्र बुझाएको बताए । उनले अबको केही दिनमै माइतीघर–बानेश्वर सडकमा गाडी चल्न नदिए सडकमै गाडी तेर्स्याउने चेतावनी दिए ।
“हामीले बिहीबार सीडीओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ । उहाँले गृहको जवाफ आएपछि खबर गर्छौं भन्नुभएको छ,” उनले भने, “१७ दिनदेखि यातायात मजदुर र यात्रु मर्कामा परेका छन् । यसरी सडक बन्द गर्न पाइँदैन ।”
आइतबारसम्म सडक खुला नभए सडकमा गाडी तेर्स्याउने उनले बताए ।
“आइतबार हामी सीडीओ कार्यालय जान्छौँ । त्यसपछि पनि सडक खुलेन भने अप्रत्यासित रूपमा सडकमा गाडी तेर्स्याउँछौँ ।”
१७ दिनदेखि शिक्षकहरूले माइतीघर–बानेश्वर सडकमा मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्दै आएका छन् । उक्त समयमा उक्त सडकमा सवारीसाधन चल्न पाउँदैनन् ।