सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री

२०८२ बैशाख ५ शुक्रबार १६:०१:०० मा प्रकाशित

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा बनेको वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएको बताएका छन् । उनले  ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह समेत गरे । 

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिन इतिहास बोकेका ठूला दलहरु मिलेर सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा स्पष्ट रहेको बताए । 

“देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्णरुपमा लागेका छौँ,” उनले भने, “तपाईंहरु पनि ढुक्कका साथ यस अभियानमा लाग्नुस् । सबै मिलेर देश बनाऔँ ।” रासस