७२ सालको भूकम्पको स्मृतिमा बारपाकमा आज सार्वजनिक बिदा

२०८१ बैशाख १२ बुधबार १४:२५:०० मा प्रकाशित

गोरखा । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।

२०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए ।

त्यसअवसरमा बारपाकस्थित हिमालय माध्यामिक विद्यालयको खेल मैदानमा आज विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो । गोरखा भूकम्पमा परी देशभर ८ हजार ९७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै ४ सय ७१ जनाको मृत्यु भएको थियो ।

त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्‍याएको थियो ।