सिंहदरबारमा माओवादी केन्द्र संसदीय दलको बैठक जारी

२०८१ असार २७ बुधबार १५:४२:०० मा प्रकाशित

काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बसिरहेको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दल कार्यलयमा केहीबेर देखि जारी बैठकमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌बाट लिन लागेको विश्वासको मतबारे छलफल भइरहेको छ ।

असार २८ गते अर्थात् शुक्रबार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ । बैठकमा अन्य समसामयिक राजनीतिक विषयहरुमा समेत छलफल हुने माओवादी नेताहरुले जनाएका छन् ।

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेसँगै सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो।

एमालेले समर्थन फिर्ता लिएसँगै दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। दुई प्रमुख दल मिलेर सरकार बनाउने सहमति भएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत नपाउने निश्चितप्रायः छ।

कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।