चौबिसै घण्टा ड्राइभिङ लाइसेन्स छाप्दै सरकार, दैनिक ६ हजार बढी प्रिन्ट

२०८१ श्रावण ११ शुक्रबार १५:०९:०० मा प्रकाशित

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइलाई तीव्रता दिएको छ । जेठको दोस्रो सातादेखि दैनिक तीन शिफ्टमा २४ घण्टासम्मै लाइसेन्स छपाइको काम भइरहेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए ।

पनेरुका अनुसार अहिले दैनिक ६ हजारभन्दा बढी लाइसेन्स छापिने गरेका छन् । दुई महिनाकाे अवधिमा दुई लाख बढी लाइसेन्स छापी सम्बन्धित प्रदेश यातायात कार्यालयहरूमा पठाइसकिएको उनले बताए ।

उनका अनुसार गत जेठसम्म १६ लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी थियो । विभागसँग एउटामात्रै प्रिन्टर भएकाले तीन शिफ्टमा भएपनि लाइसेन्स छपाइलाई निरन्तरता दिएको उनले बताए ।