अब क्यान्सर पीडितले एक लाख पाउने : मन्त्री थापा

२०८१ श्रावण १२ शनिबार १३:३९:०० मा प्रकाशित

भक्तपुर। बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाले अब क्यान्सर पीडितले एक लाख पाउने उद्घोष गर्नुभएको छ।  

शनिबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै क्यान्सर एक जटिल रोग भएकोले बिरामीलाई प्रदेश सरकारले सहायता गर्ने बताउनुभयो।  

कार्यक्रममा बोल्नुहुँदै  मन्त्री थापाले, “ आफू स्वास्थ्यमन्त्रीको कार्यकाल सकाएर कहीँकतै भ्रष्टाचार नगरी कुनै पनि व्यक्तिगत स्वार्थमा नरुमलि स्वास्थ्य क्षेत्र सुधार गरेर निस्कने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट रहेको र हिजो मात्रै आफूले नुवाकोट अस्पतालको अवलोकन गरेको स्मरण गर्दै यो वा त्यो राजनीतिक दल नभनी सबै जनतालाई स्वास्थ्य क्षेत्रलाई सरल र सर्वसुलभ बनाउन जोड दिने बताउनु भयो। 

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले भक्तपुरकै मन्त्री पाएपछि भक्तपुरको स्वास्थ्य क्षेत्र अझै परिष्कृत हुने विश्वास व्यक्त गर्नुभयो।  

नेपाल प्रेस सोसाइटीको उपाध्यक्ष दिपेन्द्र राज खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रम अध्यक्ष उपेन्द्र केसीको सभापतित्व मा सम्पन्न भएको थियो।  कार्यक्रममा संस्थाका महासचिव केशव लुइँटेल, कोषाध्यक्ष अरुण महत र सचिव रूपक खड्काले नवनियुक्त मन्त्रीलाई  पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो।