पालिकाले प्लानिङ्ग/ प्लटिङ‌ गर्न सिफारिस गर्न मिल्दैन : आयुक्त महर्जन

२०८१ भदौ १४ शुक्रबार १८:२१:०० मा प्रकाशित

भक्तपुर। उपत्यका विकास प्राधिकरण भक्तपुरका जिल्ला आयुक्त कृष्ण कुमार महर्जनले पालिकाले कुनै पनि अवस्थामा प्लानिङ्ग गर्न सिफारिस दिन नमिल्ने बताउनुभएको छ। 
नेपाल प्रेस सोसाइटीले शुक्रबार सुर्यविनायकमा आयोजना गरेको "प्लटिङ‌ले उठाएका सवाल र जिल्ला आयुक्तसँग साक्षात्कार" कार्यक्रममा महर्जनले पालिकाले प्लानिङ्गको सिफारिस गर्दा मापदण्ड पुरा नभएको खण्डमा त्यो मान्य नहुने स्पष्ट पारेका छन्।
महर्जनले भने, "पालिकाले यो गैर कृषि क्षेत्र हो, यहाँ प्लटिङ‌/ प्लानिङ्ग गरिदिनु भन्दैमा प्लानिङ्ग हुन्दैन। मापदण्ड पुरा नभई सिफारिस गर्न मिल्दैन।" उनले मापदण्डको पालना नगरिकन प्लानिङ्गको सिफारिस गर्नु गलत हुने र यसले दीर्घकालीन असर पार्न सक्ने भन्दै पालिका तथा अन्य सम्बन्धित निकायहरुलाई जिम्मेवार भएर काम गर्न आग्रह गरे।
महर्जनले थप रूपमा प्लानिङ्ग र प्लाटिङ्गको मापदण्डलाई बेवास्ता गर्दै अवैध रूपमा भूमि प्लाटिङ्ग गर्ने हरुलाई कानूनी दायरामा ल्याउने विषयमा जोड दिए। यस प्रकारको अवैध क्रियाकलापले नजिकको भूभाग र जनताको दीर्घकालीन सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने भन्दै यस्ता गतिविधिहरुमाथि कडा निगरानी राख्न र आवश्यक परे कडा कारबाही गर्ने तयारी भइरहेको जानकारी दिए।
आयुक्त महर्जनले भक्तपुर जिल्लामा तीव्र रूपमा बढिरहेको प्लानिङ्ग र प्लाटिङ्गको अवस्थाबारे पनि चिन्ता व्यक्त गरे। विशेषगरी, चाँगुनारायण नगरपालिकामा १४३ स्थानमा, मध्यपुर थिमी नगरपालिकामा ११ स्थानमा, र सुर्यविनायक नगरपालिकामा ३६ स्थानमा अहिले प्लानिङ्गका कार्यहरु भईरहेका छन्।
महर्जनले यी स्थानहरुमा मापदण्ड विपरीत भइरहेको प्लानिङ्गको कार्यलाई तत्काल रोक्न र यसबारे विस्तृत छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने आवश्यकता औंल्याए।