चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुरिसक्न मन्त्रालयकाे निर्देशन

२०८१ भदौ २३ आइतबार १५:१२:०० मा प्रकाशित

काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरू बिचको छलफलमा मन्त्री दाहालले सम्बन्धित निकायलाई निर्देशन दिदैं नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरे।

जोखिम रहेका स्थानहरूमा सडक सुरक्षाका पूर्वाधारहरू निर्माण र मर्मत गर्न निर्देशन दिँदै उनले सवारी नियम उल्लङ्घन नियन्त्रण, दुर्घटना भई हाले उद्धार र अस्पताल सम्म पुर्‍याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरे ।

सडक सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालयले अगुवाइ लिने भन्दै उनले सडक सुरक्षा परिषद्लाई क्रियाशील र प्रभावकारी बनाइने समेत बताए ।

सुरक्षित सडक, चुस्त सवारी साधन, दक्ष चालक र सचेत यात्रुहरू भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै मन्त्री दाहालले यसका लागि तीनै तहका सरकार र सम्बद्ध निकायहरू बिच सहकार्यको खाँचो रहेकोमा समेत जोड दिए।