एकताका सारा भक्तपुर बनाउने ठेक्का एउटैले लिएको थियो: दुर्लभ थापा
भक्तपुर। प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले एकताका सारा भक्तपुर बनाउने ठेक्का एउटैले लिएको दाबी गरेका छन्।
मङ्गलबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको “शुभ विजयादशमी, दीपावली, छठ, तथा नेपाल संवत् ११४५ को सुखद अवसरमा शुभकामना आदान प्रदान, सम्मान तथा चियापान कार्यक्रम” मा बोल्दै उनले भने, “ एकताका भक्तपुरमा मज्जाको हावा लागेको थियो, सारा भक्तपुर बनाउने ठेक्का एउटैले जिम्मा लिएको थियो, अहिले त्यो हल्ला अस्तिको उर्लेको हनुमन्ते र रोसी खोला जस्तै अहिले साइजमै आएको छ।” उनले एउटा मात्र व्यक्तिले देश बनाउँछु भनेर लाग्यो भने न मुलुक समृद्ध नबन्ने बताए।
फरक प्रसङ्गमा बोल्दै उनले भने, “कसैले पनि संविधान विरोधी गतिविधि गर्न पाइँदैन, अहिले आशिका तामाङ भाइरल भएकी छन्, मलाई लाग्छ राज्यको उपस्थिति छैन। यो राज्य नै आशिका तामाङले चलाइरहेको परिस्थिति छ, त्यसकारण यहाँ राज्य छ कि छैन खोज्नुपर्ने अवस्था सिर्जना भएको छ, एकातिर बालेन त्यस्तै छन्, उनी महानगरको मेयर होलान् तर अर्कोतिर उपमेयर नि होलान् नि, जनप्रतिनिधिहरू छन्, बालेनलाई लत लागिराख्या छ, आफ्नो तरिकाले महानगर चलाइरहेका छन्। लोकतन्त्रमा यस्तो हुँदैन।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाको विरोध गर्दै यसले लोकतन्त्रलाई कमजोर बनाउने बताए । उनले भक्तपुरको राजनीतिक परिदृश्यलाई स्मरण गर्दै यस किसिमको व्यवस्थाले तानाशाही प्रवृत्ति जन्माउने बताए।