हिउंदे सुख्खायाम र वन डढेलो
नेपाल बहुप्रकोपिय जोखिमको हिसाबले बिश्वमा २० औं स्थानमा पर्दछ। हामि सबैलाई थाहा भएको घटना हो नेपालमा बर्षायाममा बाढीपहिरोको त्रास, हिउँदमा सुक्खा , खडेरी,हावाहुरीको त्राससँगै आगलागी तथा बन डडेलोबाट हुने अकल्पनीय जनधनको क्षतिका कारण बाह्रै महिना जस्तै असुरक्षाको अवस्था सृजना हुन्छ । हिउँद लागेसँगै सुक्खा र खडेरीको कारण चरम आगलागी र वन डढेलोको प्रकोप शुरु हुन्छ । यो हिउँद या सुक्खायाम कात्तिकमहिनाको अन्तबाट शुरु भई जेठ अन्तिम वा असारको पहिलो हप्ता सम्म रहन्छ वा चल्दछ । अर्थात बर्षा नहुनजेल यो प्रकोपको जोखिम रहि रहन्छ । बिज्ञहरुका अनुसार बैषाख महिना सरदर अरु महिना भन्दा अलि बढि नै वन डढेलोको जोखिम हुने महिना हो ।
यसरी हरेक वर्ष हुने वन डढेलोबाट प्रत्यक्षरुपमा धनजनको क्षति ,जैविक विविधतामा असर मात्र नभई परोक्षरुपमा डढेलोको तुवालोले वायुको गुणस्तर, मानव स्वास्थ्य र जलवायु तथा प्राकृतिक स्रोतहरुमा समेत ठूलो प्रभाव पार्दछ ।
नेपालमा बिगत केहि बर्षको वन डढेलो र आगलागीको अवस्था हेर्दा सन २०२०-२०२१ मा ६७९९ घटनाहरु घटेको थियो र त्यो सन २०१९-२०२० को तुलनामा १० गुणा बढि भएको पाईन्छ । यस्ता घटनाहरु कहिले बढि र कहिले घटी भएको देखिन्छ । नेपाल सरकारको बिपद पोर्टलमा उल्लेख भए अनुसार सन २०२१-२०२२ मा भएका बन डडेलो र आगलागीको अबस्था हेर्दा २७७० वटा घटनाहरु घटि १०३ जनाको मृत्यु, ३३६६ जना घाईते , अनि १४३८ पशुधनको क्षति भएको पाईन्छ । त्यसै गरि सन २०२२-२०२३ को समयाअवधिमा २६९२ वटा घटनाहरु घटेका र यसका कारण १०८ जनाको मृत्यु, ३७२ जना घाईते र १३६० पशुधनको क्षति भएको देखिन्छ भने सन २०२३-२०२४ को समयाअवधिमा पनि ४०४३ वटा घटनाहरु घटि ११६ जनाको मृत्यु, ४८६ जना घाईते र २१४५ पशुधनको क्षति भएको पाईन्छ । अब यहि धटना २०२४ जनावरि देखि नोबम्वर महिना सम्मको करिव ११ महिनाको अवधीमा हेर्दा समेत करिब ४५६२ घटनाहरु घटेको र जसबाट १०२ जनाको मृत्यु , ४२४ जना घाईते र करिब २७१२ पशुधनको नोक्सान भएको पाईन्छ । यसरी बिगत केहि बर्षको आगलागी तथा बन डडेलोका घटनाहरु हेर्दा प्रतिबर्ष औसतमा करिव ३५०० घटनाहरु घटेका र १०७ जनाको मृत्यु, ४१२ जना घाईते र १९१३ पशुधनको क्षति भएको पाईन्छ । यो त भयो प्रत्येक्षरुपमा देखिएका जन तथा पशुधनको क्षति । यसघटना बाट अर्बोको भौतिकपूर्वाधार तथा प्राकृतिक स्रोतहरु नोक्सान भएको त कुनै लेखाजोखा नै छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार बि.सं. “२०७० वैशाख १ गतेदेखि २०७९ चैत ७ गते सम्मको समयाअवधिमा कूल १८७९१ वटा आगलागी तथा डढेलोका घटनाहरु घटि ७६९ को ज्यान जानुको साथै २५६८ घाइते र २२ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको क्षती भएको थियो।” यो नेपालको लागी ठूलो क्षति हो । अब यस्ता क्षतिलाई कम गर्नको लागी सबै तह र तप्काका ब्यक्ति, समुदाय, सरकारी तथा गैरसरकारी संस्थाहरुको सहकार्यमा रोकथाम तथा न्युनिकरणको लागी एकीकृत र समग्र योजना बनाई अग्रकृयात्मक रुपमा कार्यन्वयन तर्फ अघि बढ्नु अपरिहार्य भै सकेको देखन्छ । यदि यस्ता रोकथाम तथा न्युनिकरणको कार्यहरु समयमै हुन नसकेमा अझ बढिमात्रमा धन,जन र भौतिकपूर्वाधारको क्षति भई पश्चाताप गर्न बाहेक केहि हुन्न ।
बन डडेलो लाग्नुकाकारण
बिज्ञहरुका अनुसार नेपालमा ९६% बन डढेलोका घटनाहरु मानविय कारणले हुने गर्दछन। अपि-नाम्पा संरक्षण क्षेत्रका प्रमुख नुरेन्द्र अर्याल मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि हाल डढेलोका घटनाहरु बढाएको छ भन्नुहुन्छ । राष्ट्रिय बिपद् जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणका उपसचिव सुन्दर शर्माका अनुसार बन डढेलोका घटनाहरु प्राकृतिकरुपमा पनि हुन्छ वा भएका छन । शर्माका अनुसार ६४ % बन डढेलोका घटनाहरु जानाजानी र ३२ % घटनाहरु चांहि लापारवाहिका कारण हुने गरेको छ । त्यसैले स्थानिय सरकारले अग्रक्रियात्मक रुपमा बिपद् ब्यबस्थानको पूर्व तयारी स्वरुप डडेलो तथा आगलागि संबन्धमा ब्यापक जनचेतनात्मक कार्यक्रमलाई संचालन गर्न सकेमा यो घटनाहरु कम गर्न सक्ने देखिन्छ । लामो खडेरी, उच्च वेगको हावाहुरी र अत्यधिक गर्मीका कारण नेपालमा हुने डढेलोका घटनामध्ये ८० प्रतिशत भन्दा बढी मध्यफागुनदेखि मध्य वैशाखसम्म हुने तथ्य बिज्ञहरुले प्रस्ट्याएका छन । भुसमा सल्केको आगो जस्तै आगलागी तथा बन डडेलोको कारण बर्षेनि ठूलो क्षति हुने गरेको भए पनि अन्य विपद्भन्दा आगलागीको धटना सम्बन्धमा पूर्वतयारी तथा जनचेतनाको गतिविधी भने कमै हुने गरेको पाईन्छ । यस बिषयमा सबै सरोकारवाला निकाएहरुको ध्यानआकृष्ट गर्दै सयममै पूर्वतयारी तथा जनचेतनामूलक कर्यक्रमहरु संचालन गर्न सके परिआएको बेलामा छिटो र सहजरुपामा प्रतिकार्य गर्न सकिन्छ वा संभावित क्षति घटाउन सकिन्छ ।
चुनौतिहरु
बन डडेलोका घटनाहरु दिनप्रति दिन बढदै जांदा प्रत्येक्ष तथा परोक्षरुपमा ठूलोमात्रमा स्रोत तथा साधनहरुको नोक्सानी भैरहेको अबस्था छ । वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लागी वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने अनुमान छ । यो नोक्सानी हाम्रो जस्तो बिकासोन्मुख राष्ट्रको लागी ठूलो चुनौति हो । त्यसै गरि हाल बिश्वाब्यापीरुपमा देखिएको जलवायु परिवर्तनको घटना पनि वन डढेलोका धटनाहरु बढ्ने अर्को चुनौती हो जसले गर्दा लामो समयसम्म पानि नपर्ने,खण्डवृष्टि हुने र सुख्खायामको समय बढ्ने हुंदा बन डढेलो लाग्ने हुन्छ । बिपद्का घटनाहरु नेपालमा मात्र हैन बिदेशमा समेत बारम्वर हुने घटना हो । यसलाई ब्याबस्थापन गर्ने आ-आफ्नै शैलि र तरिकाहरु हुन्छन । यहि तरिका र शैलिलाई परम्परागत ज्ञान भनिन्छ । हाल नेपालमा ती स्थानिय र परम्परागत ज्ञानको प्रयोगमा कमी आउनु पनि चुनौतीको रुपमा देखिएकोछ । आधुनिक शैलि तथा बानि ब्यबहारमा आएको परिबर्तनले गर्दा मानिसहरु गाँउ बाट शहर पस्नुको साथै कृषिबाट अन्य पेशा तर्फ स्थानान्तरण हुंदा बिस्तार भएको बन र गाँउ जोडिन पुग्नु, बिना योजना जोखिम आकलन नगरी घर भवन तथा आवास बसाउँदा पनि आगलागीका घटना हुने गरेका छन् यो पनि अर्को चुनौतीको रुपमा बिकास भएको छ । त्यसै गरि बन डडेलो जस्ता घटनाहरुले पूर्ब तयारीमा प्राथमिकता नपाउनु पनि आगलागी तथा डडेलोका घटनाहरुका थप चुनौतीका रुपमा देखा परेका छन।
प्रयासहरु
राष्ट्रिय बिपद् जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणले आगलागी तथा बन डढेलो नियन्त्रणका लागि अग्रपङ्तिमा खटिने दस्ताहरु जस्तै नेपाली सेना, नेपाल प्रहरी,ससस्त्र प्रहरी बल, बन उपभोक्ता समुह र नेपाल सरकारका बन प्राविधिकहरुका लागि उपयुक्त हुने तालिम सामाग्रिहरुको विकास गरी ईलर्निङको ब्यबस्था गरेको भए पनि त्यसको कार्यान्वयन र प्रभावकारिताको बारेमा अनुगमन गरि समीक्षा गर्नु पर्ने हुन्छ। यस्ता धटनाहरुको प्रभावकारी रुपमा न्युनिकरण तथा रोकथाम गर्नको लागि पहिलो प्रतिकार्यटोलि भनेको स्थानिय समुदाय नै भएकोले बन उपभोक्ता समुह वा स्थानिय स्वायमसेवक बिपद् प्रतिकार्य टोलीको ब्यबस्थापन वा गठन गरि आवश्यक तालिम तथा सामाग्रीहरुबाट सुसज्जित बनाई राख्नु पर्दछ । आगलागी र डढेलोका घटनाहरु बर्सेनि बढि रहेको भएता पनि रोकथामका लागि तीनै तहका सरकारले पर्याप्त र प्रभावकारी पूर्वतयारी गरेको देखिँदैन। जसले गर्दा मानवीय, आर्थिक र पर्यावरणीय क्षति बढ्दै गएको छ ।
कानूनी ब्यबस्था
नेपालमा बिपद् ब्यबस्थापनको प्रवृत्तिलाई हेर्दा पूर्वतयारी, रोकथाम र नियन्त्रण वा न्यूनिकरणमा भन्दा राहत वितरणमा बढी केन्द्रित भएको देखिन्छ । आगलागी र डढेलोबाट मृत्यु भए मृतकका परिवारलाई २ लाख रूपैयाँ क्षतिपूर्ति सरकारले उपलब्ध गराउदंछ र घाइतेको हकमा उपचार खर्च सरकारले बेहोर्ने व्यवस्था छ । त्यसै गरि घर जलेर नष्ट भएमा पुनर्निर्माणका लागि हिमाली क्षेत्रमा ५ लाख, तराईमा ४ लाख र पहाडी क्षेत्रमा ३ लाख रूपैयाँ सरकारले उपलब्ध गराउने नितीगत ब्यबस्था रहेको छ । (लुइँटेल, २०८०)।
सरकारले डढेलो नियन्त्रण रणनीति तयार गरि लागु गरि सकेको छ । तर त्यसको कार्यन्वयन के कस्तो भएको छ, त्यो बर्षेनि लागेको डढेलोका घटनाहरु बाटै प्रष्ट हुन्छ । त्यसै गरि बन ऐन २०७६ अनुसार राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुने कुनै कार्य गरेमा क्षतिको बिगो बाहेक तीन बर्ष कैद वा साठी हजार सम्म जरिवाना तथा दुबै सजायको ब्यवस्था हुन सक्नेछ । बिपद् ब्यबस्थापन प्रभावकारी रुपमा संचालन गर्नको लागी तीनै तहका सरकारलाई नेपालको संबिधान २०७२, बिपद् जोखिम न्यूनिकरण तथा ब्यबस्थापन ऐन २०७४ र स्थानिय सरकार कार्य संचालन ऐन २०७४ ले प्रयाप्त मात्रमा अधिकार प्रत्याजोन गरेको छ। कागजी ब्यबस्थापनमा कुनै कमि छैन मात्र कमि छ त राजनितिक ब्यक्तित्वहरुको ईच्छा शक्ति र बिपद ब्यबस्थापन संम्वन्धी शाखामा कार्य गर्ने कर्मचारीहरुको बुझाइ र प्राथमिकतामा ।
सुझाबहरु
बन डडेलोको रोकथाम तथा नियन्त्रणको लागी स्थानीय सरकारको समन्वयमा स्थानीय जनसमुदायमा सचेतना तथा डढेलो नियन्त्रणका उपायको जानकारी गराउने । त्यसैगरि विद्यालयका बिध्यर्थी तथा शिक्षकहरुलाई निरन्तर पूर्वतयारीको कार्यक्रमहरु विकास गरी व्यावहारिक ज्ञान दिने कार्य गर्नुपर्छ । गाउं तथा नगरपालिकाहरुले नगरप्रहरीको ब्यवस्था गरि फायर फाइटिङ इक्विपमेन्ट्सहरु चलाउने वा हयाण्ड्लिङ सम्बन्धमा आवश्यक तातिम दिई प्रतिकार्यको लागी तयारी हालतमा राख्ने । गाउं तथा नगरपालिकाहरुले बिपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाई सबै सरोकारवाला ब्यक्ति तथा संस्थाहरुलाई समन्वयात्मक रुपमा आवधिक तालिमहरु प्रदान तयारीहालतमा राख्ने । बिज्ञ तथा सम्बन्धित निकाएहरु बाट प्राप्त सल्लाह सुझावहरुलाई ढिला नगरी सबै तहका सरकारले लागु गर्ने अन्यथा गत आश्विन महिनामा गएको बर्षात र त्यसपछिको क्षति दोहरिन जान्छ । यसै गरि वनजङ्गलमा वन रक्षकहरुको व्यवस्था गर्ने र नियमित गस्तीका साथै अग्नि नियन्त्रण रेखा बनाउने गरेको खण्डमा पनि डढेलोका घटनामा कमी आउने देखिन्छ । सबै राजनीतीक पार्टीहरुले आफ्ना भातृ संगठनमा आवद्द सदस्यहरुलाई अग्नि नियन्त्रण सम्बन्धी तालिम दिई आवश्यक सामाग्री सहित प्रतिकार्य टोलिको ब्यबस्था गर्ने ।
संक्षेप
‘हरियो वन, नेपालको धन’ भन्ने प्रख्यात नारा रहेको नेपालमा कुल क्षेत्रफलको करिब ४५ प्रतिशत भू–भाग वन तथा बुट्यानले ओगटेको छ । करिब ७० मि. देखि ८८४८.८६मि.को उचाईमा फैलिएको विविध भू–धरातलमा रहेका बन बुट्यानहरु हरेकको कुनै न कुनै (सौन्दर्य, कपडा , काठ तथा फर्निचर औषधीय प्रयोग खाना र पोषण, सांस्कृतिक र आध्यात्मिक प्रयोगहरू तथा जैविक अनुसन्धान) प्रयोजनको हिसाबले महत्व रहेको पाईन्छ । छोटकरिमा भन्नु पर्दा बिरुवाहरू मानव जीवनको अस्तित्व संग जोडिएको छ, त्यसैले यसको संरक्षण र विस्तार गरि पर्यावरण, बातावरण तथा मानव समुदायको बिकास गर्नु पर्दछ। यसको लागी प्रचलित ऐन, कानुन, निती तथा कार्यविधीहरु लाई पालना गर्दै स्थानिय सरकारले सबै सरोकारवाला निकएहरु बिच आवश्यक
समन्वय गरि समयमै पूर्वतयारी तथा प्रतिकार्य टोलिको निर्माण, आगो नियन्त्रण सम्बन्धी आवश्यक सामाग्रिहरुका ब्यबस्था र तालिम तथा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्नु पर्दछ ।
(लेखक केसी नेपाली सेनाको अवकाश प्राप्त प्रमुख सेनानी हुनुका साथै संकट / विपद व्यवस्थापनको विद्यार्थी समेत हुनुहुहुन्छ।)