सत्यको जित भएको छ : डा. तोसिमा कार्की

२०८१ फाल्गुण २९ बिहीबार १५:४२:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा। तोसिमा कार्कीले सत्यको जित भएको बताएकी छन् । सर्वोच्च अदालतको फैसलापछि कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अन्ततः सत्यको जित भएको छ । यो जित सँगसँगै लाभको पदको परिभाषा पनि स्थापित भएको छ ।’

यस्तै उनले न्याय प्रणालीमाथिको विश्वास झन बलियो भएको बताइन् ।  प्रतिनिधि सभा सदस्यमा आफ्नो उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

साढे २ वर्षअघि प्रतिनिधि सभा सदस्यमा कार्कीको उम्मेदवारीलाई लिएर परेको अजुरीका आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कार्की सर्वोच्च अदालत गएकी थिइन् । अदालतले कार्कीको उम्मेदवारी कायम गर्न स्टे अर्डर गरेको थियो । हालै सर्वोच्च अदालतले उक्त मुद्दामा फैसला गर्दै उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय नै बदर गरिदिएको छ ।

उम्मेदवारीमाथि विरोध दाबी गर्ने म्याद सकिसकेपछि पनि विपक्षीले हालेको उजुरीमाथि टेकेर आयोगले निर्णय गरेको कार्कीले स्मरण गरेकी छन् । चुनावी प्रचारप्रसारमा भइरहेका बेला निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको र न्यायको लागि सर्वोच्च पुगेको उनले बताएकी छन् ।

सर्वोच्चले स्टे अर्डर मार्फत उम्मेदवारी कायम गरिदियो र कार्कीले चुनाव पनि जितिन । तर, उक्त मुद्दामा साढे दुई वर्षपछि न्यायधीशहरू डाक्टर मनोज कुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय बदर गरिदिएको हो ।

आफू संघीय संसद पदको उम्मेदवारको लागि योग्य ठहर रहेको अदालतको फैसला आएपछि कार्कीले न्याय प्रणाली माथिको विश्वास झन बलियो भएको बताएकी हुन् । ‘सुरुवाती दिनदेखि नै नयाँ युवा राजनीतिमा आउन खोज्दा रोक्न छेक्न खोजिएकोमा अन्तत अदालतले स्थापित गरेको छ । हामीलाई अदालत माथी विश्वास थियो र यस सँगै हाम्रो न्याय प्रणाली माथिको विश्वास झन बलियो भएको छ’ उनले भनेकी छन् ।

यो जीत आफ्नो व्यक्तिगत मात्र उपलब्धि नभएको भन्दै कार्कीले सबै मतदाता र न्यायिक लडाईमा साथ दिने अधिवक्ताहरुको समेत उपलब्धि भएको बताएकी छन् । परिवार, मतदाताहरु, राष्ट्रिय स्वतन्त्र पार्टी साथै सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिएकी छन् ।