पूर्वमन्त्री तथा कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन, तीन अर्ब बढी भ्रष्टाचार गरेको आरोप

काठमाडौं । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनको पद स्वतः निलम्बनमा परेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले बिहीबार मुद्दा दायर गरेको हा ।
अख्तियारले टेरामक्स प्रकरणमा बस्नेतसहित १५ नेपाली नागरिक, एक विदेशी नागरिक र अन्य दुई कम्पनी गरी १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । प्रतिवादीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।
मुद्दा दायर हुनासाथ उनको पद स्वतः निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको सूचना आयोगले संघीय संसद् सचिवालयमा पठाउँदै छ ।
तत्कालीन मन्त्रीको रूपमा बस्नेतसमेत दोषी रहेको दाबीसहित उनलाई पनि प्रतिवादी बनाइएको छ ।