ऐतिहासिक बिस्का जात्रा आजदेखि सुरु

२०८० चैत २७ मंगलबार ११:५८:०० मा प्रकाशित

भक्तपुर । सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा मंगलबारदेखि सुरु हुँदैछ।

नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको यो:शि उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ ।

जात्राका लागि अत्यावश्यक भैरव र भद्रकालीको रथ निर्माण लगायतका सबै तयारी पूरा भएको गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन् ।

सरकारी पूजा बिहान ११ बजे र सर्वसाधारणको पूजा दिउँसो ३ बजेभित्र सकेर दिउँसो ३ बजेदेखि भैरवको रथ तान्न सुरु गर्ने योजना रहेको उनले जानकारी दिइन् । दिउँसो ३ बजेदेखि रथ तानेर अपराह्न ५ बजे सम्पन्न गर्ने तयारी छ । गुठी संस्थान भक्तपुरले रथयात्राको सम्पूर्ण खर्च व्यवस्थापन गरेको छ ।

बिस्केट जात्रा नेपाल संवत २६८ अर्थात लिच्छविकालभन्दा अगाडिदेखि मनाइँदै आएको र मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ।

त्यसपछि नेपाल संवत ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको किंवदन्ती छ।