भारतबाट नेपाल भित्रिने सामग्रीमा ल्याब टेस्ट गरिएका छैन : सभापति खान

२०८१ भदौ २० बिहीबार १९:२९:०० मा प्रकाशित

भक्तपुर। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवम् जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले भारतबाट नेपाल भित्रिने सामग्रीमा ल्याब टेस्ट नगरी बजारमा पठाइने बताएका छन्।
नेपाल प्रेस सोसाइटीले बिहीबार भक्तपुरमा आयोजना गरेको "अस्वभाविक मूल्य वृद्धि / कालोबजारी र बजार अनुगमन विषयक" अन्तरक्रिया कार्यक्रममा सभापति खानले भने, “नेपालमा भित्रिने खाद्य सामग्रीको ल्याब टेस्ट हुँदैन । ७० प्रतिशत आयात भारतसँग गर्ने भएपनि कुनै पनि नाकामा कतै ल्याब टेस्ट गरिदैन, र ल्याउँदा ल्याउँदै सामग्रीको मिति पनि सकिएको हुन्छ  ।” 
खानले थपे, “ल्याब टेस्ट नगरी खाद्य सामग्रीलाई बजारमा पठाउँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। बजारमा पाइने सामग्रीको गुणस्तर र मापदण्ड सुनिश्चित गर्न ल्याब टेस्ट अनिवार्य गर्नु पर्छ।” उनले यस समस्याको समाधान गर्न सरकार र सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न आह्वान गरे।
कार्यक्रममा बोल्दै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य रेखा यादवले वर्तमान बजार अनुगमन प्रणालीमा सुधार गर्नुका साथै कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले कडा निगरानी र कारवाही गर्नुपर्ने बताइन्।
भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बजार अनुगमनमा प्राविधिक र व्यवस्थापकीय सुधारहरू लागू गर्दै उपभोक्ताको स्वास्थ्यको सुरक्षा प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रशासनले समय समयमा बजार अनुगमन गरिरहेको र त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रशासन प्रमुख सुरज पौडेलले सार्वजनिक सेवाहरूको गुणस्तर बढाउन र उपभोक्ताको अधिकारको रक्षा गर्न नगरपालिकाले प्रयास गरिरहेको बताउँदै बजार अनुगमनमा सुधार आवश्यक रहेको बताए। उनले भने, "यसका लागि स्थानीय सरकारले मात्र गरेर नहुने भएकाले प्रशासन र अन्य सम्बन्धित निकायले समन्वय गरेर काम गर्न आवश्यक छ।"
कार्यक्रममा उपस्थित सबै अतिथिहरूले उपभोक्ताको हितमा प्रभावकारी बजार अनुगमन र कडा निगरानीको महत्त्वलाई स्वीकार गर्दै यस क्षेत्रमा सुधार ल्याउने उपायहरूमा विचार विमर्श गरेका थिए। 
नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष दिपेन्द्र राज खत्रीले गरेका थिए । कार्यक्रममा संस्थाका महासचिव केशव लुइँटेल, कोषाध्यक्ष अरुण महत र सचिव रूपक खड्काले अतिथिहरूलाई स्वागत गरेका थिए।