एसपी मुछिएपछि सीआईबीले थाल्यो भैंसेपाटी हनी ट्रयाप प्रकरणको अनुसन्धान

२०८१ कार्तिक २२ बिहीबार १३:५२:०० मा प्रकाशित

काठमाडौं । भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाही जोडिएको ‘हनी ट्रयाप’ प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।

नेपाल प्रहरीका एसपी कमल थापामाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरी प्रधान कार्यालयले थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मेवारी दिएको हो ।

सीआईबीका प्रमुख एआईजी दिपक थापाका अनुसार, यो प्रकरणको नेक्सस विभिन्न जिल्लासँग जोडिएकाले मंगलबारदेखि अनुसन्धान थालिएको छ ।

‘यो घटनामा पक्राउ परेका सबै जना र अनुसन्धानका अहिलेसम्मका फाइल पनि झिकाएर अनुसन्धान सुरु भएको छ’, उनले अनलाइनखबरसँग भने, ‘प्रहरी प्रधान कार्यालय र ललितपुर प्रहरीले बनाएको छानबिन समितिको निचोडलाई समेत आधार बनाएर अनुसन्धान हुनेछ ।’

गएको ६ असोजमा प्रहरी प्रभाग, भैंसेपाटीमा इन्स्पेक्टरकै संलग्नतामा प्रहरी चौकीमा लेनदेन भन्दै ललितपुर प्रहरी परिसरका अधिकारीहरुसमक्ष सूचना पुगेको थियो । त्यसपछि ललितपुरका एसएसपी शेखर खनालले सबैलाई कार्यालयमा बोलाएर छानबिन थालेका थिए ।

त्यसक्रममा इन्स्पेक्टर शाहीको पनि शंकास्पद भूमिका देखिएको थियो । पछि प्रहरीले उनलाई पनि प्रतिवादी बनायो । पक्राउ पूर्जी जारी भएपछि शाही फरार छिन् । ललितपुर प्रहरीको छानबिन समितिको जाँचका क्रममा शाहीलाई प्रकरणका आरोपी ताज स्माइलसँग एसपी कमल थापाले चिनजान गराइदिएको भेटिएको थियो ।

एसपी थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा रहँदैबाट इस्माइलसँग परिचित थिए ।