असोज ९ गतेबाट भक्तपुरको सल्लाघारीमा व्यापार महोत्सव हुने

२०८१ भदौ २४ सोमबार १७:४३:०० मा प्रकाशित

भक्तपुर। नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा भक्तपुरको सल्लाघारी चौरमा भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ।
भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा र सगुन इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को व्यवस्थापनमा महोत्सव हुन लागेको हो।

महोत्सव असोज ९ गतेदेखि १९ गतेसम्म ११ दिनसम्म चल्ने भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले बताए। उनले भने, ‘हामीले दशैँको मुखमा उपभोक्तालाई एकै थलोबाट सुपथ मूल्यमा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले दशैँको अवसरमा बृहत् सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना गर्न लागेका हौं।’ भक्तपुरको सल्लाघारीमा रहेको नेपाल ट्रस्टको जग्गामा महोत्सव हुने जनाइएको छ।

महोत्सवमा एक सय पचासभन्दा बढी स्टलहरू रहने उल्लेख छ। यहाँ दैनिक प्रयोगमा आउने उपभोग्य सामग्री, विभिन्न प्रकारका लत्ताकपडाका स्टलहरू रहने अध्यक्ष श्रेष्ठले बताए।

त्यस्तै, महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको पनि स्टल राखिने जनाइएको छ। अन्य कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, र पर्यटन प्रवर्द्धन गर्ने स्टलहरू रहने भक्तपुर चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष न्हुच्छे रत्न मानन्धरले जानकारी दिए।
महोत्सवमा बालबालिकाहरूका लागि बाल उद्यान, रोटेपिङ , डागन रेल, नाउ, बोटिङ, वाटर बल्ब, मिकि माउस, ट्रैम्पोलिन, स्कोरपियो आदिका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति समेत रहनेछ।

महोत्सव संयोजक माधवप्रसाद प्रजापतिले महोत्सवमा विविध उत्पादन तथा सेवाहरूको अलग-अलग परिसर बनाई प्रवर्द्धन गर्ने योजना रहेको जनाए। औद्योगिक उत्पादन र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्धलाई सामीप्यता अभिवृद्धि गराउने र लगानीकर्तालाई नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न महोत्सवले टेवा पुर्‍याउने उनले बताए।

एघार दिनको उक्त महोत्सवमा करिब दुई लाख पचास हजार दर्शकहरूले अवलोकन गर्ने र करिब दश करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।