पुरानाले नछाडे घचेट्ने नै हो : सचेतक परियार

२०८१ भदौ ३० आइतबार १५:५६:०० मा प्रकाशित

भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य एवम् प्रमुख सचेतक सन्तोष परियारले पुराना राजनीतिक दलहरूले नछाडे घचेट्नु पर्ने बताएका छन्। 

आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको “असोज १ र २ गते रास्वपाको राष्ट्रिय भेला सन्दर्भ विषयक" अन्तरक्रिया कार्यक्रम सो कुरा बताएका हुन्। उनले भने, “एउटै मान्छे तीस पैंतिस् वर्षसम्म पार्टी सत्ता र राज्य सत्तामा रहने भन्ने कुरा संसारमा कहीँपनि हुँदैन। यो विज्ञान सम्मत पनि नभएको कुरा हो। ” मुलुक सबै सेटिङमा चलिरहेका बेलामा रास्वपा केही गर्ने जोशको साथ विकल्पको रुपमा आएकाले पुराना दललाई टाउको दुखिरहेको दावी गरे । 

इलाममा जे भयो त्यो राम्रै भयो। हाम्रो पार्टीको मत १३ सय नै थियो जम्माजम्मी ५ हजार आयो त्यो राम्रो हो।  हामीले त्यहाँका कतिपय मुद्दाहरूलाई सम्बोधन गर्न सकेका थिएनौ र हाम्रो पार्टीको त्यस क्षेत्रमा सङ्गठन खासै थिएन। त्यति गर्दा पनि ५ हजार भन्दा बढी मत पाउनु राम्रो हो।  उक्त परिणामले हामी र हाम्रो पार्टीलाई पार्टी सञ्चालन र सङ्गठन निर्माणमा जुट्न अवसर सिर्जना भएको छ। 

परियारले आउँदो असोज १ र २ गते हुने राष्ट्रिय भेलामा पार्टीको आगामी मिसन २०८४ को विषयमा व्यापक छलफल हुने र स्थानीय तथा संसदीय निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित हुने जानकारी पनि दिए। 

त्यस्तै कार्यक्रममा बोल्दै रास्वपाकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा तोसिमा कार्कीले आफूहरू शासक नभई सेवक बन्न राजनीतिमा आएको उल्लेख गरिन। उनले भनिन, ”जनप्रतिनिधि भनेको शासक होइन सेवक हुन् सक्नुपर्छ, अबको नेतृत्व भनेको पद होइन, कर्तव्य हो । हामी समग्र देशप्रति कसरी उत्तरदायी, जवाफदेही र पारदर्शितामा जोड दिनुपर्छ ”। पूर्व राज्यमन्त्री समेत रहेकी डा. कार्कीले छोटो समय सरकारमा सामेल भएको अनुभवले पार्टीलाई सुशासन र विकासको मार्गमा सरकार हाँक्न सक्ने हौसला र पर्याप्त सामर्थ्य प्राप्त गरेको दाबी गरिन्।

कार्यक्रममा बोल्दै रास्वपाका केन्द्रीय सदस्य शंकर श्रेष्ठले असोज १ र २ गते करिब २ हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने राष्ट्रिय भेलामा साङ्गठनिक र वैचारिक विकासका साथै विधान संशोधन हुने जानकारी दिए । 

नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्रराज केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका सचिव संजीप घिमिरेले विषय उठान गरेका थिए। कार्यक्रममा रास्वपाका जिल्ला सभापति रामेश्वर थापा, जिल्लाका संस्थापक नेता साजन बिक, नगर सभापतिहरूका साथै पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन रोशन थापाले गरेका थिए ।

कार्यक्रममा संस्थाका महासचिव केशव लुइँटेल, कोषाध्यक्ष अरुण महत र सचिव रूपक खड्काले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो।