जनस्वास्थ्य कार्यालय भक्तपुरको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

२०८१ असोज १० बिहीबार १५:४८:०० मा प्रकाशित

भक्तपुर ।  जनस्वास्थ्य कार्यालय भक्तपुरले मङ्गलबार जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। सिद्धि स्मृति सभा हलमा सम्पन्न यस गोष्ठीमा भक्तपुर जिल्लाका चारवटै नगरपालिकाका स्वास्थ्य केन्द्रहरू, विभिन्न सरकारी विद्यालयका स्वास्थ्य सेवामा कार्यरत स्टाफ नर्सहरू तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूले आफ्नो कार्यसम्बन्धी प्रतिवेदन पेश गरेका थिए।

गोष्ठीको मुख्य उद्देश्य जिल्लामा स्वास्थ्य सेवाको प्रभावकारिता, समस्याहरू र भविष्यका योजनाहरूको पहिचान गर्नु थियो। यस क्रममा स्वास्थ्य सेवाका विभिन्न पक्षहरूमा छलफल गरिएको थियो । सहभागीहरूले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि सामुदायिक स्वास्थ्य कार्यक्रमहरूको विस्तार, जनचेतना अभिवृद्धि र स्वास्थ्य पूर्वाधारको विकास जस्ता महत्वपूर्ण विषयहरूमा जोड दिएका थिए।

स्वास्थ्य सेवामा कार्यरत स्टाफ नर्सहरूले प्रतिवेदन प्रस्तुत गर्दा उनीहरूले सामुदायिक स्वास्थ्य सेवामा देखिएका चुनौतीहरू, उपलब्धिहरू र अनुभवहरू साटासाट गरेका थिए। विशेष रूपमा, उनीहरूले विद्यालय तथा स्वास्थ्य केन्द्रहरूमा नियमित रूपमा भइरहेको स्वास्थ्य परीक्षण कार्यक्रम, मातृ तथा शिशु स्वास्थ्य सेवा तथा अन्य स्वास्थ्य अभियानहरूको प्रगति र त्यसमा देखिएका कठिनाइहरूबारे चर्चा गरेका थिए।

गोष्ठीमा बिभिन्न अस्पतालका इन्चार्जहरू र स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न निकायका पदाधिकारीहरूले पनि आफ्नो धारणा प्रस्तुत गरे। उनीहरूले जनस्वास्थ्यका क्षेत्रमा भइरहेको कार्यप्रति आफ्नो समर्थन जनाउँदै स्वास्थ्य सेवाको गुणस्तरलाई थप माथि उठाउन विभिन्न सुझावहरू दिएका थिए । उनीहरूले स्वास्थ्यमा समन्वय र सहयोगको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए ।

जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले भक्तपुरमा यस्ता प्रकारका समीक्षा गोष्ठीहरू समयसमयमा आयोजना गरिरहने जानकारी गराउँदै, यस्ता कार्यक्रमहरूले स्वास्थ्य सेवा क्षेत्रमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले थप रूपमा, जिल्लामा रहेको स्वास्थ्य सेवाको अवस्था सुधार गर्न कार्यालयले निरन्तर पहल गरिरहेको र आगामी दिनहरूमा अझ प्रभावकारी योजनाहरू अघि सारिने बताउनुभयो।

भिडियो हेर्नुहोस : 

https://youtu.be/IZQ2ShwgyPU