फोहोर बर्गिकरण गर्ने घरलाई नेप्सेम्याकद्वारा ५ किलो मल उपहार

२०८१ कार्तिक २० मंगलबार १४:३५:०० मा प्रकाशित

भक्तपुर। फोहोर बर्गिकरण गर्ने घरलाई नेप्सेम्याकले ५ किलो मल दिने भएको छ। नेपाल प्रेस सोसाइटीद्वारा आयोजित "स्वास्थ्य र फोहोर व्यवस्थापन विषयक" अन्तरक्रिया कार्यक्रममा नेप्सेम्याकका बोल्दै प्रबन्ध निर्देशक बाबुराम चौलागाइँले फोहोर बर्गिकरणलाई प्रोत्साहन गर्दै फोहोर छुट्याउने घरधुरीलाई नेप्सेम्याकले ५ किलो मल उपहार स्वरूप दिने गरेको बताएका हुन् ।

नेप्सेम्याकले भक्तपुरमा २०६५ सालदेखि फोहोर व्यवस्थापनको सेवा सुरु गरेको हो, र हाल १०,४०० भन्दा बढी घरधुरीमा फोहोर सङ्कलन र व्यवस्थापन गर्दै आएको छ। नगरका घर-घरमा कुहिने र नकुहिने फोहोरलाई अलग-अलग राख्न सिकाएर जनचेतना बढाउँदै आएको संस्थाले नगरपालिकाको सहयोगमा नगर सफाइलाई प्राथमिकतामा राखेको छ। चौलागाइँका अनुसार, नेप्सेम्याकको यो अभियानले पहिले नगरका गल्ली, चोक र खोलामा फाल्ने फोहोर पूर्ण रुपमा बन्द भई नगर स्वच्छ र हराभरा बनाउन उल्लेख्य भूमिका खेलेको बताए।  

नेप्सेम्याकले भक्तपुरका सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकासँग पनि सहकार्य गरि सेवा दिईरहेको बताए । कुहिने फोहोरलाई घरमै मल बनाउन, कौसी खेती गर्न र कम्पोस्टिङको तरिका सिकाउँदै आएको संस्थाले फोहोर व्यवस्थापनमा स्वच्छता कायम गर्ने अभियान नै चलाएको छ।

चौलागाइँले जनतासँगको सहकार्यमा नेप्सेम्याकले ग्रामीण क्षेत्रमा हप्तामा एक पटक र सहरी क्षेत्रमा हप्तामा दुई पटक फोहोर संकलन गर्ने गरेको जानकारी दिए। कार्यक्रममा उपस्थित अन्य प्रतिनिधिहरूले नेप्सेम्याकको यो योगदानको प्रशंसा गर्दै यसले भक्तपुरको सरसफाइ र जनस्वास्थ्यलाई बलियो बनाएको टिप्पणी गरेका थिए ।