एक महीनापछि काममा फर्किए बीपी प्रतिष्ठानका कर्मचारी र चिकित्सक

२०८० माघ २८ आइतबार १५:०१:०० मा प्रकाशित

काठमाडौँ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत शिक्षक, कर्मचारी र चिकित्सक एक महीनापछि काममा फर्किका छन्।

आन्दोलनका कारण अवरुद्ध बनेको ओपीडी सेवा लगायत पठनपाठन आइतबारदेखि सञ्चालनमा आएको छ। ओपीडी सेवा बन्दा हुँदा बिरामी मर्कामा परेका थिए।

गत पुस २९ गतेदेखि शिक्षक, कर्मचारी र चिकित्सकले आन्दोलन शुरू गरेका थिए। उनीहरूले बढुवाको प्रक्रिया शुरू गर्न माग गर्दै कामकाज ठप्प पारेका थिए।

आन्दोलनका कारण ओपीडी सेवा प्रभावित भएको थियो। त्यस्तै, पठनपाठन पनि रोकिएको थियो।

यसअघि रोकिएको बढुवा प्रक्रिया शुरू हुने भएपछि आन्दोलनकारी सहमतिमा आएका हुन्। प्रतिष्ठान र शिक्षक कल्याण समाज तथा कर्मचारी कल्याण समाज संयुक्त सङ्घर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो। सहमितसँगै आन्दोलन स्थगित भएको छ।

आइतबारदेखि शिक्षक, कर्मचारी तथा चिकित्सक काममा फकिएका छन्। सबै कामकाज सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ।