नवनियुक्त उपकुलपति बरालको पदबहाली आज

२०८० फाल्गुण ११ शुक्रबार ११:२१:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपतिमा नियुक्त प्राडा केशरजंग बरालले आज पदबहली गर्दैछन्। दिउँसो १ बजे उनको पदबहालीको कार्यक्रम राखिएको त्रिविका सूचना अधिकारी योगन्द्रप्रसाद दाहालले जानकारी दिए। 
निकै लामो कसरतपछि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्। बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन्।
विश्वविद्यालयको उपकुलपति छनोट समितिले आइतबार पहिलो नम्बरमा प्राडा चित्रबहादुर बुढाथोकी, दोस्रोमा बराल र तेस्रो नम्बरमा प्राडा टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो।
दाहालले यी तीन मध्ये कसलाई बनाउने भन्ने निर्णय गर्न ५ दिन लगाएका हुन्। बुढाथोकी र बराल दुवै माओवादी समर्थित भए पनि कसलाई बनाउने भन्नेमा पार्टी भित्रै विवाद भएपछि नियुक्ति गर्न ढिलाइ भएको थियो।  माओवादी नेता वर्षमान पुन, देवेन्द्र पौडेल बुढाथोकीलाई उपकुलपति बनाउनु पर्ने पक्षमा थिए भने प्रधानमन्त्री दाहाल बरालको पक्षमा थिए।
उपकुलपति पदमा नियुक्तिको विज्ञापनमा ४३ जनाले आवेदन दिएका थिए। उपकुलपति छनोट समितिले १४ जनाको सर्टलिष्ट निकालेको थियो।  ती मध्येबाट तीन जनालाई समितिले छनोट गरी प्रधानमन्त्रीलाई बुझाएको थियो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा रहेको छनोट समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य थिए। 
१९ औं उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालय कात्तिक १७ गतेदेखि उपकुलपतिविहीन थियो।