बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले सांसद विनोद चौधरीसँग बयान लियो

२०८० चैत ८ बिहीबार १२:२९:०० मा प्रकाशित

काठमाण्डौ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रतिनिधिसभाका सांसद एवम् उद्यमी विनोद चौधरीसँग बयान लिएको छ । नेपाली कांग्रेसका सांसद चौधरीसँग सीआईबीका अनुसन्धान अधिकृतहरूले बिहान जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएका हुन् ।

यसअघि हिजो सीआईबीले चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको थियो । सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रुपमा बिक्री गरिएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । अहिले च्याम्पियन फुटवेयर बन्द भएर त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ । 

यसअघि सीआईबीले अनुसन्धानका लागि विनोद चौधरीका भाइ अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गएको माघ १८ गते पक्राउ गरेको थियो । ६ दिनको हिरासतपछि उनीहरूलाई हाजिरी जमानीमा छाडिएको छ ।

विनोद चौधरीका अर्का भाइ वसन्त चौधरीलाई पनि सीआईबीले हिजो सोधपुछ गरेर छाडेको थियो ।