बर्षा र डेङ्गुको जोखिम

२०८१ जेठ २९ मंगलबार १६:४१:०० मा प्रकाशित

डेंगु लामखुट्टेबाट सर्ने भाइरल रोग हो जुन संक्रमित एडिस एजिप्सि (Aedes aegypti ) र एडिस एल्बोपिक्टस ( Aedes albopictus) जातका पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।यो लामखट्टेलाई Tiger Mosquito पनि भनिन्छ । जुनसुकै उमेर समूहका मानिसहरुलाई पनि यो रोग लाग्न सक्दछ । बिज्ञहरुका अनुसार डेंगुका लक्षणहरू सामान्यतया २ देखि ७ दिनसम्म रहन्छन् । यो बिशेषत उष्णतटिय अर्थात  तातोहावापानी, आर्द्रता वा मौसम र प्रायः शहरी तथा अर्ध-शहरी क्षेत्रहरूमा पाइने भएता पनि हाल गर्मि तथा जाडो स्थानहरुमा समेत फैलिएको पाईन्छ । यसरी सबै स्थानहरु (तातो वा चिसो हावापानी ) मा फैलिन को कारण जलवायू परिबर्तनमा आएको असर हो भनि बिज्ञहरुको अनुमान छ ।
डेंगु रोग सार्ने वा निम्त्याउने भाइरसलाई डेंगु भाइरस (DEN-V) भनिन्छ । बिज्ञहरुका अन्सार अहिले चार प्रजातिका डेंगु भाइरस (DEN-V) छन् । यो रोगसार्ने लामखुट्टेलाई अर्बन इनडोर लामखुट्टे र डेंगुरोगलाई बोन ब्रेक फिभर  (Bone Break fever) पनि भनिन्छ।
एउटा पोथिलामखुट्टेले आफ्नो ३० दिनको जीवनकालमा लगभग ५००-१,००० संक्रमित अण्डाहरु पार्ने गर्दछ र यो अण्डाहरु करिब २०० मिटर क्षेत्रमा फैलन्छ । यति धेरै अण्डाहरु भए पनि  संक्रमितबाट मात्र रोग उत्पन्न हुने गर्दछ वा सार्दछ ।  डेंगु एक जलवायु परिबर्तनका कारण फैलिने संवेदनशील भेक्टर बोर्न रोग हो, जुन हालैका वर्षहरूमा सार्वजनिक स्वास्थ्यको क्षेत्रमा चिन्ताको बिषय बन्न पुगेको छ ।
बिश्व स्वास्थय संगठनको प्रतिबेदन अनुसार हाल बिश्वको ५० प्रतिशत जनसंख्या डेङ्गु संक्रमणको जोखिममा रहेका छन । १९९० देखि २०१९ सम्मको अभिलेखलाई अध्ययन गर्दा यो केस ८५% ले वृद्धि भएको पाईन्छ । बिश्वका १२९ देशहरूमा, ७०% डेङ्गुको केसहरू एशियन राष्ट्रहरुमा देखिएका छन् । बिश्वमा डेंगु संक्रमण प्रति वर्ष बढदै गएको देखिन्छ यसको व्यवस्थापन गर्न हैजा भन्दा तीन गुणा बढी खर्च हुने समेत बिश्व स्वास्थय संगठनको प्रतिबेदनमा उल्लेख भएको छ । त्यसैले आगामी दिनमा डेंगु संक्रमण जन स्वास्थ्य प्रणालीमा एकठूलो जोखिमको बिषय बन्ने देखिन्छ । ३० अप्रिल २०२४ सम्मको बिश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार, करिब ७६ लाख जनतामा डेंगु केसहरू देखिएका छन भने १६००० भन्दा बढी गम्भीर केसहरू र करिब ३००० भन्दा बढि मानिसहरुको मृतु भै सकेको छ।

‌ऐतिहासिक बिकास 
सर्वप्रथम डेंगु भाइरस, गैर-मानव (बाँदर) मा विकसित भएको बिश्वास गरिएको छ। ऐतिहासिक रूपमा, कहिले देखा पर्यो भन्ने बिषयमा एकिन नभएता पनि डेंगुको प्रारम्भिक रेकर्ड  ईसापूर्व ९९२ को चिनियाँ चिकित्सा ईनसाक्लोपेडीयमा भने उल्लेख भएको पाईन्छ । त्यसै गरि  ५०० र १००० वर्षको बीचमा अफ्रिका वा दक्षिणपूर्वी एशियाका मानिसहरूमा सरेको थियो भन्ने पनि भनाईहरु पाईन्छ। ‌ओपचारिक रुपमा सर्बप्रथम सन् १९५० को दशकमा फिलिपिन्स र थाइल्याण्डमा डेंगु एक महामारीको रुपमा फैलिएको थियो भने आज,बिश्वमै बालबालिका तथा वयस्कहरू अस्पताल भर्ना र मृत्युको प्रमुख कारण बनेको छ । 
बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिबेदन अनुसार डेंगुका बिरामीहरूको संख्या विगत दुई दशकमा ८ गुणाले बढेर गएको पाईन्छ । सन् २००० मा ५०५,४३० केसहरू देखिएकोमा सन २०१० मा २४ लाखभन्दा बढी र २०१९ मा ५२ लाख पुगेको थियो। डब्लुएचओको प्रतिबेदन अनुसार आज विश्वको लगभग आधा जनसंख्या डेंगुको जोखिममा परेको देखिन्छ जसमा प्रत्येक वर्ष १ देखि ४ करोड मानिसहरुमा संक्रमणहरू देखा पर्छन्  ।

नेपालको परिप्रेक्षमा भने सर्बप्रथम सन् २००४ मा चितवन जिल्लामा नेपाल घुम्न आएका बिदेशी नागरिकमा डेंगुको भाईरस संक्रमण भएको पाईएको थियो भने २००६ मा नेपाली मै संक्रमण फैलियो । त्यस यता नेपालमा क्रमशः डेंगुका बिरामीहरु बढ्दै गएर सन् २०१९ मा नेपालका ६८ जिल्लामा १७ हजार ९ सय ९२ जना बिरामीहरु भेटिएका थिए । २०१९ मा नेपालको पाँच जिल्ला (चितवनमा २ , सुनसरी, सिन्धुपाल्चोक, काठमाडौं र डोटीमा एक–एक) मा गरि ६ जनाको मृत्यु समेत भएको थियो । यो केस सन २०२१ केहि कमि भएको भएता पनि स्वास्थ्य मन्त्रालयका अनुसार सन २०२२ मा ५४ हजार ७८४ बिरामी फेला परेका थिए भने ८८ जनाको मृत्यु नै भएको थियो । गत वर्ष अर्थात सन २०२३ मा नेपालको ७७ वटै जिल्लामा फैलिएको यो संक्रमणबाट करिब ५२ हजारभन्दा बढी प्रभावित हुनुको साथै २० जनाको मृत्यु समेत भएको थियो ।  सन २०२४ को अहिले सम्मको अभिलेख हेर्दा करिब १ हजार मानिसहरु यस घातक रोगबाट संक्रमित भइसकेका छन् ।  त्यसैले, डेंगुका घटनाहरूको समग्र प्रवृत्ति र हालका दिनमा बढ्दै गएको तथ्याड्कमा  केन्द्रित भई बिश्लेषण गर्दा यसले भविष्यमा जनस्वास्थ्यमा विपत्ति निम्त्याउन सक्ने देखिन्छ। त्यसैले आगामि दिनहरुमा डेंगु संक्रमणबाट सुरक्षित रहन सामुदायिक स्तरमा अग्रकृयात्मकरुपमा जनसचेतनामुलक कार्यक्रमको संचालन गर्नु जरुरी रहेको छ। 
लक्षणहरु 
बिज्ञहरुका अनुसार डेंगु संक्रमण भएकमाङ्क दुई देखि सात दिनमा रोगका लक्षणहरु देखिन थाल्छन् । जसमा उच्च ज्वरो (१०४ डिग्रि फ्यारेनहाइट सम्म) प्रमुख लक्षण हो । यसको साथै टाउको दुख्ने, मांसपेसि दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाक लाग्ने, वान्ता आउने, ग्रन्थी सुन्निने जस्ता अन्य लक्षणहरु पनि हुन्छन् । मेडिकल न्यूजडट कम अनलाईन पत्रिकाको अनुसार डेंगु ज्वरो भएका करिब ७५% मानिसहरूमा लक्षणहरू अनुभवै नगरि रोग निकोहुन्छ । यसको साथै पेट दुखाइ , २४ घण्टामा कम्तिमा तीन पटक बान्ता हुनु , नाक वा गिजाबाट रगत बग्नु , बेचैन वा चिडचिडा महसुस हुनु, शरिर धेरै तातो र धेरै चिसो भई तापमानमा परिबर्तन हुनु, कमजोर महसुस र शरिरमा छिटो छिटो रक्त संचारहुनु तथा रक्तचापमा भिन्नता आउने नस्ता गम्भीर लक्षणहरू पनि देखा पर्दछन ।

चुनौतीहरु
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार डेंगुभाईरस सार्ने लामखुट्टेहरू करिब २१०० मिटरसम्मको उचाइमा अनुकूलन भई जीवित रहने र प्रजनन समेत गर्ने पाइएको छ । उष्णतटिय क्षेत्रहरुमा पाईने भनिएको लामखुट्टे क्रमिकरुपमा नेपालको पुरै भुगोलमा फैलिसकेको  अबस्थामा जलवायु परिबर्तनको परिणाम स्वारुप उपयुक्त बातावरणको श्रृजना भई भविश्यमा अझ सक्रियरुपमा संक्रमण हुने देखिन्छ । विज्ञहरुका अनुसार डेंगु भाईरसहरु बिभिन्न प्रजातिका (चार सेरोटाइप) भएको कारण उपचार पद्दतीमा जटिलता हुने वा खोप उपलब्ध हुन सकेको छैन । नेपालमा बिपद्को पूर्वतयारि र प्रतिकार्य संस्कृतिलाई अध्ययन गर्दा तयारीमा भन्दा प्रतिकार्यमा केन्द्रित रहने वा रोगको उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो हो भन्ने भनाईलाई परित्याग गरि बिपद् पश्चातको कोलाहल र राहत सामग्रीको बितरणमा कुम्भमेला लगाउने प्रवृति रहेको पाईन्छ । डब्लुएचओ को अनुसार डेंगुको संक्रमण गराउने त्यहि लामखुट्टे (एडिस एजिप्सि र एडिस) ले चिकनगुनिया, एल्लो फिवर र जिका भाईरस जस्ता अन्य बहुरुपि रोगहरु समेतको संक्रमण गराउने हुंदा बर्षापश्चात डेंगु लगायत अन्य रोगहरु समेतको संक्रमण भै जनस्वास्थ्यमा महामारी उत्पन्न हुन सक्ने अनुमान लगाउन सकिन्छ । 
रोकथामका उपायहरु
डा.  उज्वल न्यौपानेका अनुसार डेंगुको रोकथाम गर्न भेक्टर लक्षित उपायहरु अपनाउनु पर्छ । जस अन्तरगत लामखुट्टेको प्रजननमा रोकथाम तथा घर वरपर बसोबास गर्नबाट रोक्ने , लामखुट्टेको टोकाइबाट बच्न राम्रो संग झुलको प्रयोग गर्नु, लामा बाहुला भएका कपडा लगाउने।  पूर्णरुपमाअण्डा नष्ट गर्ने आदि । त्यसै गरि घरको कुनाकाप्चा तथा लामखुट्टे बसोबास गर्नसक्ने सम्भावित स्थानहरुमा किटनाशक औषधी छर्किने, हावामा छर्किन मिल्ने स्पेस स्प्रे (Space Spray) को प्रयोग तथा घर वरपर पानी जम्मा हुन नदिने, भाँडाहरु छोप्ने, पानीको सतहमा लामखुट्टे प्रतिरोधी (लार्भा नासक) औषधीहरु छर्किने, किराहरु खाने माछा तथा अन्य जीव पालन गर्ने आदि उपायहरु प्रभावकारी छन् । त्यस्तै आफ्नो सुरक्षाको लागि रिपेलेन्ट (Repellent) प्रयोग गर्नको साथै लामखुट्टे भगाउने धुपहरुको पनि प्रयोग गरि आम जनतामा डेंगुको जोखिम कम गर्न सकिन्छ । साथै स्थानिय स्थरमा देशव्यापि जनचेतनामुलक कार्यक्रमहरु संचालन गरि सर्बसाधारणलाई डेंगुबाट बच्ने उपायहरु सिकाउन सकेमा  यसको जोखिमकम हुने डा. न्यौपानेको सुझाब रहेको छ । हालसम्म डेंगुको कुनै उपचार वा औषधीहरु प्रभावकारी नभएकोले यसबाट बच्ने भनेकै सक्रिय रूपमा रोकथामका उपायहरुलाई अवलम्वन गर्नु हो । यसको साथै आयूर्वेदको अनुसार प्रसस्त मात्रमा पानी पिउने, ताजा फलफूलहरुका जुस पिउने, मेवा तथा तुलसीपत्ताको चिया पिउने जस्ता प्राकृतिक उपचार पद्तिको समेत प्रयोग गर्न सकिन्छ । मानव स्वास्थ्यलाई सदा निरोगी रहि दीर्धजिबी राख्ने हो भने हामि सबैले आफ्नो दिनचर्या, आनिवानिमा  (खानपान, योगध्यान तथा शारिरिक अभ्यास आदि) सुधार गरि रोगसंग लडने क्षमतामा बिकास गर्नु अति जरुरी रहेकोछ । 
अन्तमा
डेड्गु संक्रमन सम्बन्धि बिगत दुई बर्षको अभिलेख हेर्दा लामखुट्टे बिशेषत: गर्मि र बर्षाको मौसम (जुलाई देखि नोबम्वर ) मा बढि सक्रिय भई मानव शरिरमा डेड्गु भाईरस संक्रमण भएको पाईन्छ । त्यसैले यो मौसममा कम्तिमा हप्ताको एक पटक एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरि पानी जम्न नदिने हो भने पनि लामखुट्टेको प्रजननमा कमि गराई रोगको संक्रमण नियन्त्रण गर्न सकिन्छ । त्यसै गरि गर्मि तथा बर्षा मौसमको शुरुमै स्थानिय स्तरमा अग्रक्रियात्मक रुपामा एडिस एजिप्सि र एडिस एल्बोपिक्टस नामक लामखुट्टे र यसको असर सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरु एक अभियानकै रुपमा संचालन गर्दा डेड्गु संक्रमन कम गराउन सकिन्छ। 

(लेखक केसी नेपाली सेनाको अवकाश प्राप्त प्रमुख  सेनानी  हुनुका साथै संकट / विपद व्यवस्थापनको विद्यार्थी समेत हुनुहुहुन्छ।)