अल्पमतमा परेपछि सरकार सदनप्रति उत्तरदायी भएन : कांग्रेस

२०८१ असार २६ मंगलबार १३:०९:०० मा प्रकाशित

काठमाडौं  । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार सदनप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदसमेत रहेका लेखकले सदनमा रहेका दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले सदनप्रति बेवास्था गरेको बताएका छन् ।

लेखकले संविधानले कुनै पनि दल सरकारबाट बाहिरिएपछि विश्वासको मत लिन ३० दिन समय दिएको स्मरण गराउँदा प्रधानमन्त्रीले चाहेमा अझैपनि समय थप्नसक्ने तर, सदनप्रति जिम्मेवार भने हुनुपर्ने बताए ।

उनले भने, ‘संविधान अनुसार सरकारले विश्वासको मत लिन खोजिरहेको छ। सरकारले पूरै ३० दिन लेओस्, तर सरकार हुँदासम्म त सदनप्रति उत्तरदायी हुनुपर्‍यो। सरकारले अविरल वर्षाको कारणले सदनलाई जानकारी गराइदेओस्। यसमा द्रुत रूपले काम गरोस् भन्ने चाहन्छु।’