उपत्यकामा पिउने पानीको व्यापारमा विकृति, विभागले तिरायो जरिवाना

२०८१ श्रावण १० बिहीबार १६:३५:०० मा प्रकाशित

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार उपत्यकाका १५ स्थानमा बजार अनुगमन गर्‍यो । यीमध्ये ७ स्थानमा पानीको मात्र अनुगमन गरिएको थियो ।

विभागले आफ्नो नियमित अनुगमनका क्रममा गरेको सो अध्ययनबाट विभिन्न कैफियत भेटिएका छन् । विभागका अनुसार धेरैजसो व्यापारीले दर्ता, प्रमाणपत्र नराखेको, मूल्य सूची नराखेको तथा खरिद बिल–विजक नराखेको पाइएको छ । कतिपय व्यापारीले भने अनुगमन टोलीलाई सहयोग नै नगरेको समेत पाइएको छ ।

काठमाडौंमा त्यस्तै असहयोग गर्ने एक फर्मलाई २० हजार जरिवाना तिराइएको छ । काठमाडौंमै अर्को एक फर्मलाई दर्ता प्रमाणपत्र नराखेको र मूल्य सूची नराखेको कसुरमा ५० हजार जरिवाना तिराइएको विभागले जनाएको छ ।

भक्तपुरमा भएका विभिन्न अनुगमनमा पानी वितरकहरूलाई व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन भनिएको छ । भक्तपुरका चार फर्मलाई यस्तो निर्देशन दिएको विभागको भनाइ छ । धापाखेलमा पानी बिक्री वितरण गर्ने ३ वटा फर्मलाई अनुगमन टोलीले व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन भनिएको छ ।