स्वास्थ्य क्षेत्रमा केही कमी कमजोरी छन् : मन्त्री थापा

२०८१ असोज २३ बुधबार ११:५२:०० मा प्रकाशित

भक्तपुर। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा केही कमी कमजोरी रहेको बताएका छन्।  
मङ्गलबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको “शुभ विजयादशमी, दीपावली, छठ, तथा नेपाल संवत् ११४५ को सुखद अवसरमा शुभकामना आदान प्रदान, सम्मान तथा चियापान कार्यक्रम” मा बोल्दै उनले भने, “प्रदेशका स्वास्थ्य क्षेत्रमा अहिले पनि धेरै सुधार गर्नुपर्ने कुराहरू छन्।  कर्मचारीको अभाव , उपकरण, एन तथा कानुनको निर्माणमा भएको ढिलाइले यो क्षेत्र अस्तव्यस्त छ।” कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले गरेको प्रगतिको बारेमा चर्चा गर्दै कमीकमजोरीलाई सुधार गर्न आफू लागिपरेको उल्लेख गरे। 

उनले बागमती प्रदेशमा स्वास्थ्य पूर्वाधारलाई सुदृढ बनाउन अढाई महिनाको अवधिमा प्रदेशका सबै १३ जिल्लामा अस्पतालको व्यवस्थापन र सेवाहरूलाई स्तरीय बनाउन ध्यान दिएको बताए। उनले भने, “स्वास्थ्य क्षेत्रमा केही कमी कमजोरी छन्, ति कमीकमजोरीलाई मैले यो अढाई महिनाको अवधिमा सुधार गर्न लागिरहेको छु।  बागमती प्रदेश सरकारले २५ शैयाको अस्पतालदेखि ३०० शैया सम्मको अस्पताल सञ्चालन गरेको छ।  १३ ओटै जिल्लामा प्रादेशिक अस्पताल छ।  यी अस्पतालमा आवश्यक जनशक्ति, कर्मचारी, उपकरण देखि सम्पूर्ण चिज यो अढाई महिनाको अवधिमा पुरा गरे।” उनले भक्तपुर अस्पतालमा बिहान ८ बजेदेखि नै ओपीडी सेवा सञ्चालन गरेर जनतालाई सुलभ स्वास्थ्य सेवा दिने प्रयास गरिरहेको पनि जानकारी गराए।