संविधान संशोधनको विषय सत्ता परिवर्तनको खेल मात्रै : सचेतक परियार

२०८१ असोज २३ बुधबार ११:५३:०० मा प्रकाशित

भक्तपुर। प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको विषय सत्ता परिवर्तनको खेल मात्रै रहेको बताएका छन्। 

मङ्गलबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको “शुभ विजयादशमी, दीपावली, छठ, तथा नेपाल संवत् ११४५ को सुखद अवसरमा शुभकामना आदान प्रदान, सम्मान तथा चियापान कार्यक्रम” मा बोल्दै उनले भने, “काँग्रेस र एमालेले संविधान संशोधनको कुरा सत्ता स्वार्थको लागि मात्र प्रयोग गरेका थिए, काँग्रेस र एमालेलाई सत्ता स्वार्थमा लिप्त् हुन् केही विषय नभएपछि संविधान संशोधनको कुरा गरेका हुन्।” उनले संविधान संशोधनको विषयलाई सत्ता परिवर्तनको खेलमा मात्रै प्रयोग गर्ने राजनीतिक दलहरूको नीतिमाथि गम्भीर प्रश्न उठाए। 
उनले संविधान संशोधनको कुरा सरकार ढाल्ने बेलामा मात्र प्रयोग गरिएको बताए। उनले राज्यले संविधान प्रदत्त मौलिक अधिकारहरूको कार्यन्वयनमा जोड नदिएको पनि बताए।  उनले नेपालको संविधानमा उल्लेख मौलिक हकहरूको संरक्षण र कार्यान्वयन नै सबैभन्दा महत्वपूर्ण भएको बताउँदै सरकारले यसमा ध्यान दिनुपर्नेमा जोड दिए।