रविलाई टाउकोमा हानेर रास्वपा सिध्याउने सपना नदेख्न सरकारलाई लाई बस्नेतको चेतावनी
भक्तपुर - राष्ट्रिय स्वतन्त्र पार्टीको भक्तपुर जिल्ला संयोजक रामेश्वर बस्नेतले रविलाई टाउकोमा हानेर रास्वपा सिध्याउने सपना नदेख्न सरकारलाई चेतावनी दिएका छन्।
नेपाल प्रेस सोसाइटीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेप्रति निराधार आरोप लगाई राज्य सत्ताले प्रतिशोध साँधिरहेको बताउँदै उनले भने, “८७ अर्ब रुपैयाँ कांग्रेस, एमाले र माओवादीले चलाएको छ। रास्वपाले त एक रुपैयाँ पनि चलाएको छैन। ६५ करोडको कुरा गर्दा ८७ अर्ब डुबाउने प्रपञ्च गरिँदै छ। यसको हामी घोर विरोध गर्दछौं। हाम्रो सभापतिलाई जुन मुद्दामा फसाउने प्रयत्न गरिएको छ, जसले रास्वपालाई सिध्याउने कोसिस भइरहेको छ। भ्रस्ट सरकारमा रहेका पार्टीहरूको बुझाइमा रास्वपाको टाउकोमै हानेपछि रास्वपा सकिन्छ भन्ने विचार छ। तर, हामीलाई सक्याएर हामी सकिँदैनौं। सक्ने भए जनताले सकून्, हामी त्यसका लागि तयार छौं।”
बस्नेतले आफूहरू शान्तिप्रिय रहेको र निलो क्रान्तिको पक्षधर भएको भन्दै पार्टीमाथि दमन भइरहे निलो क्रान्ति रातोमा जान बेर नलाग्ने चेतावनी दिए। पार्टीमाथि सरकारले सम्पूर्ण ताकतले आक्रमण गरिरहेकोले त्यसको प्रतिकार गर्नुको विकल्प नभएको उनले बताए।
त्यस्तै, रास्वपा भक्तपुरका नेता साजन विकले सरकारलाई रास्वपा समाप्त पार्ने दिवा सपना नदेख्न चेतावनी दिए। “रविलाई सकाउन खोज्दा रास्वपामा हजारौं रविहरू जन्मिसकेका छन्,” उनले भने। सहकारीको ८७ अर्ब अपचलन रविले गरेको जस्तो गरी प्रतिशोधपूर्ण अनुसन्धान भइरहेको उनको भनाइ छ।
कार्यक्रममा पार्टीको भक्तपुर नगर सभापति राजेश शिल्पकार, सूर्यविनायक नगर सभापति भाइकृष्ण श्रेष्ठ, चाँगुनारायण नगर सभापति रोशन थापा, र मध्यपुर थिमी नगर सभापति न्हुछें रत्न मानन्धरलगायतले पार्टीको अवस्था र भेलाको तयारीबारे जानकारी गराए।
खुला सभा शनिबार बिहान ७:०० बजे शंखधर चोक, मध्यपुर थिमीबाट सुरु भई यालीसहित प्रारम्भ भई दुईपोखरी (निगु पुख) पुगेर बिहान ८:०० बजे उद्घाटन समारोह सम्पन्न गरिनेछ। कार्यक्रममा केन्द्रीय उपसभापति तथा सांसद डि.पी. अर्याल, सचिवालय सदस्य तथा प्रमुख सचेतक सन्तोष परियार, सांसद सोबिता गौतमलगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्।
पार्टीले भक्तपुर जिल्लाभरका नेता, कार्यकर्ता, शुभचिन्तक र न्यायप्रेमी जनसमुदायलाई कार्यक्रममा सहभागिता जनाउन आह्वान गरेको छ। सांस्कृतिक झाँकीसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरिने जानकारी दिँदै पार्टीले सबै अग्रगामी र सुशासनका पक्षधरलाई निमन्त्रणा गरेको छ।
नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन सोसाइटीका महासचिव केशव लुइँटेलले गरेका थिए।