राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरको प्रथम जिल्ला भेला शनिबार हुने
भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरले प्रथम ऐतिहासिक जिल्ला भेला तथा खुल्ला सभा शनिबार आयोजना गर्ने भएको छ। पार्टीले नेपाल प्रेस सोसाइटीको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
पार्टीले भ्रष्टाचार, कुशासन र बेथितिका विरुद्ध एकजुट हुँदै सुशासन कायम गर्ने उद्देश्यले आयोजना गर्न लागेको यस कार्यक्रममा पार्टी सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध भइरहेको योजनाबद्ध राजनीतिक प्रतिशोधको विरोधस्वरूप आन्दोलनको स्वरूपसमेत प्रदान गरिने बताइएको छ।
खुल्ला सभा शनिबार बिहान ७:०० बजे शंखधर चौक, मध्यपुर थिमिबाट सुरु हुने यालीसहित प्रारम्भ भई दुईपोखरी (निगु पुख) पुगेर बिहान ८:०० बजे उद्घाटन समारोह सम्पन्न गरिनेछ। कार्यक्रममा केन्द्रीय उपसभापति तथा सांसद डि. पी. अर्याल, सचिवालय सदस्य तथा प्रमुख सचेतक सन्तोष परियार, सांसद सोबिता गौतमलगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्।
पार्टीले भक्तपुर जिल्लाभरिका नेता, कार्यकर्ता, शुभचिन्तक र न्यायप्रेमी जनसमुदायलाई कार्यक्रममा सहभागिता जनाउन आह्वान गरेको छ। सांस्कृतिक झाँकीसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरिने जानकारी दिँदै पार्टीले सबै अग्रगामी र सुशासनका पक्षधरलाई निमन्त्रणा गरेको छ।