सरकार विरुद्ध हिंसात्मक आन्दोलन गर्ने चाँगुनारायण नगरपालिकाको मेयरको चेतावनी

२०८१ मङ्सिर १४ शुक्रबार १५:४०:०० मा प्रकाशित

भक्तपुर। चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सरकारविरुद्ध हिंसात्मक आन्दोलन गर्ने चेतावनी दिएका छन्। भक्तपुरदेखि नगरकोट पुग्ने सडक पुनर्निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि राज्यले बेवास्ता गरेको भन्दै नगरपालिकाले अब कडा कदम चाल्नुपर्ने अवस्था आएको बताए ।

शुक्रबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको "नगरकोट भ्रमण वर्ष २०८२ को तयारी र समग्र चाँगुनारायण नगरपालिकाको समृद्धि" विषयक अन्तरक्रियामा बोल्दै नगरप्रमुख खत्रीले भने, "हामीले यतिसम्म गर्यौं कि यो राज्य र क्षेत्र हेर्ने मान्छेसँग नगरपालिका लाग्नुपर्ने बाध्यकारी अवस्था होकी भनेर हामीले अनुभव गरिसक्यौँ।  अब यो लोकतान्त्रिक रूपले सम्बन्धित जिम्मेवारी लिएको विभाग र नेपाल सरकारले यो विषयलाई नजर अन्दाज गरेर मानिसमा वितृष्णा पैदा हुनेगरि काम गरेर हामी आजित भैसक्यौँ।  म सञ्चारकर्मी मार्फत आग्रह गर्न चाहन्छु यदि नगरकोटको बाटो भ्रमण वर्षलाई प्रभावित पर्नेगरी सम्बन्धित निकायले सडक विभाग , नेपाल सरकारको भौतिक पूर्वाधार मन्त्रालय र सङ्घीय सरकारले यसलाई नजरअन्दाज गर्ने हो भने नगरपालिका  यो सरकारका विरुद्ध हिंसात्मक आन्दोलनमा जान परेपनि पछि पर्ने छैनौँ। "

उनले नगरकोट भ्रमण वर्ष २०८२ को सम्पूर्ण तयारी लगभग पूरा भइसकेको भए पनि सडक पुनर्निर्माणको कामले गति लिन नसकेको बताए। उनका अनुसार भ्रमण वर्ष वैशाख १ गतेदेखि सुरु हुनेछ तर सडकको दुरावस्था कायम रहे भ्रमणलाई नकारात्मक प्रभाव पर्ने छ।

नगर प्रमुख खत्रीले राज्यका सम्बन्धित निकायहरूलाई पटकपटक ध्यानाकर्षण गराउँदै आइरहे पनि समस्याको समाधान गर्न चासो नदेखाइएको आरोप लगाए। उनले भने सरकारको उदासीनता र लापरवाहीकै कारण हामी हिंसात्मक आन्दोलन गर्न बाध्य हुने बताए । उनले जनताको चासो र मागको अनादर गरेर सरकारले स्वयं जनआक्रोश निम्त्याउने काम गरेको बताए ।

सडकको निर्माण सम्पन्न नभएसम्म भ्रमण वर्ष प्रभावकारी रूपमा सफल नहुने तर्क गर्दै खत्रीले सडक जस्तो आधारभूत पूर्वाधार निर्माण नभएसम्म नगरपालिकाको सम्पूर्ण तयारीले अर्थ नराख्ने सङ्केत गरे ।

उनले हिंसात्मक आन्दोलनको स्वरूप भने खुलाएनन्। 

त्यसैगरी कार्यक्रममा बोल्दै  चाँगुनारायण नगरपालिका ६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले नगरकोट पर्यटकीय मात्र होइन ऐतिहासिक र पुरातात्विक र प्राचीन किम्वदन्तीका समेत अनेकौँ कथा बोकेको स्थल भएकोले भ्रमण वर्ष सफल पर्न यस्ता कुराहरू पनि समेट्न जरुरी रहेको बताए।  

सोसाइटीको अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन केशव लुइँटेलले गरेका थिए।