संसदको अवरोध कायमै राख्ने माओवादीको निर्णय

२०८१ भदौ २८ शुक्रबार १६:४७:०० मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । एमाले सचिव योगेश भट्टराईको अभिव्यक्तिले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको माओवादीको निष्कर्ष छ ।

भट्टराईले बोलेकै दिन माओवादीले नियमापत्ति गरेको थियो । सभामुखले छानबिन गर्न निर्देशन दिएपछि माओवादीको विरोध रोकियो । तर बुधबार सभामुखले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद अवरुद्ध गर्‍यो ।

संसदीय दलको शुक्रबार बसेको बैठकले संसद अवरुद्ध गर्नु सही भएको निष्कर्ष निकालेको छ । प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘जनयुद्धलाइ अपमानित गरिएको छ, यसमा (संशोधन) नआउँदासम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छौं ।’

बैठकले उपपसभामुख इन्दिरा राना मगरले भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु कमजोरी भएको बताएको छ । तर १८ महिनापछि संवैधानिक परिषद्लाई हेरेर उपसभामुखलाई हटाउन खोजेको माओवादी केन्द्रको निष्कर्ष छ ।