संविधानलाई ठूला पार्टीको खेलौना बन्न नदिऔं : झलनाथ खनाल

२०८१ असोज ३ बिहीबार ११:५९:०० मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन् । त्यस्ता नीतिको भण्डाफोर गर्न पनि उनले आह्वान गरेका छन् ।

संविधान दिवसको अवसरमा आज एक सन्देश सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले वर्तमान संविधान जारी भएपछिका यी ९ वर्षमा ८ वटै नीति तथा कार्यक्रम, ९ वटै वार्षिक बजेट र दुई वटा पञ्चवर्षीय योजना लागू गरिसक्दा पनि जनआकांक्षा सम्बोधन नभएको उललेख गरेका छन् । यसो हुनुको दोष उनले ठूला पार्टीहरुलाई लगाएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले सन्देशमा लेखेका छन्,  ‘आज देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यो ठूला पार्टीहरूका नेतृत्वमा रहेको दिशाहीनता, लक्ष्यहीनता, अकर्मण्यता, आत्मकेन्द्रित स्वार्थीपन, भ्रष्ट आचरण, सत्तालोलुप्ता, दम्भ, घमण्ड र सर्वोपरि रुपमा सिद्धान्तहीनता, नैतिकहीनता र निष्ठा विहीनताको अनिवार्य परिणाम हो ।’

संविधानका प्रगतिशील पक्षहरू लागू नगरेर संविधान संशोधनको हल्ला मचाइरहेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । देशमा दलाल पुँजीवादको रजगज भएको भन्दै उनले त्यसलाई चुपचाप हरेर नहुने बताएका छन् ।

‘जनता र राष्ट्रका समस्याहरू दलाल पुँजीवादले समाधान गर्न सक्तैन । त्यसले देशलाई हर दिन चौतर्फी संकटतिर लागिरहेछ,’ खनाल भन्छन्, ‘देशमा यतिबेला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट गहिरिँदै गइरहेछ । राष्ट्रियता माथिको संकट त्यति कै चर्को बनिरहेछ ।’

उनले ‘विदेशी सेनाहरू अनेक बहानामा हाम्रो मातृभूमिका छातीमा बुट बजार्न थालेको’ पनि उल्लेख गरेका छन् । आम जनतामा असन्तोष, विरोध र आक्रोश उम्लिरहेको उल्लेख गर्दै खनालले ‘संविधानमा उल्लिखित समाजवाद कता हराइरहेको छ ?’ भनेर प्रश्नसमेत गरेका छन् ।

संविधानका प्रगतिशील र समाजवादी पक्षलाई केलाउँदै संविधानलाई पश्चगमनतर्फ लैजानबाट रोक्न पनि उनले आह्वान गरेका छन् । उनले वर्तमान संविधानलाई ठूला पार्टीहरूको खेलौना बन्न नदिन पनि अपिल गरेका छन् ।

‘संविधानमा उल्लेखित प्रगतिशील र समाजवादी पक्षलाई केलाऔँ, ती पक्षहरूको रक्षाका निम्ति दृढतापूर्वक खडा होऔं । संविधानलाई पश्चगमन तर्फ लानबाट रोकौं,’ खनालले सन्देशमा लेखेका छन्, ‘ठूला पार्टीहरुका जनता झुक्याउने नीतिहरूको भण्डाफोर गरौं, वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गरौं र वर्तमान संविधानलाई ठूला पार्टीहरूको खेलौना बन्न नदिऔं । यसलाई नेपाली जनताको आकांक्षा अनुरूप समाजवादको उचाइतिर अघि बढाऔं । आजको संविधान दिवसले तपाईं हामीसँग यही कुराको माग गरिरहेको छ ।’