युवालाई प्रधानमन्त्रीको आग्रहः समाजलाई अराजक र अशिष्ट बनाउने प्रयास भइरहेको छ, बचाउनु होला

२०८१ असोज ३ बिहीबार १२:१३:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई अराजक र अशिष्ट बनाउने प्रयास भइरहेको बताएका छन् । उनले अशिष्टहरूले अराजकता मच्चाउन मौका पाए नेपाल पुस्तौँपछि पर्ने भएकाले युवा पुस्ताले यसलाई रोक्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा ओलीले युवालाई सचेत गराउँदै समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउन आग्रह गरेका छन् ।

ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको भन्दै काम गरेर देखाउने र गरेकै कामले आशा भर्नेबाहेक वर्तमान सरकारको अर्को एजेन्डा नभएको बताए । उनले भने, ‘तपाईंहरूभित्र केही गरौँ भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूवाट बचाउनु होला । तपाईंहरूमा केही गरौँ भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला ।’ 

ओलीले समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास र सुशासन कायम गर्ने काम आफूहरुको भएको बताए । देश भाँडियो भने अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौँपुस्ता पछि पर्नेछौँ यसैले युवापुस्ता सजग हुनुपर्छ, उनले भने । २०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक बोकेको र पोखेको आफूले संसद्मा विश्वासको मत लिँदै गर्दा पनि भनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ’म देख्छु, खासगरी युवा पुस्ताभित्र असीमित ऊर्जा छ । केही गरौं भन्ने हुटहुटी छ, उत्प्रेरणा छ, सपना छ । 

विकासका लागि स्थायित्व चाहिने भन्दै नीति र राजनीति दुवैमा स्थायित्व आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ’विकासका लागि स्थायित्व चाहिन्छ । अहिले हामीलाई नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ । राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो । तसर्थ विकासको लागि स्थायित्व अर्थात निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन । संविधानलाई समयानुकुल बनाउनु पर्छ, उनले भने । 

समयानुकुल बनाउने भनेको अनुकुल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो,’ उनले भने । त्यस्तै उनले संविधानलाई समयानुकुल बनाउनुपर्ने उल्लेख गर्दै विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गरिने स्पष्ट पारे । संशोधन प्रक्रियामा संसद्को गणितीय सङ्ख्या मात्रै नहेर्ने भन्दै सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास हुने उनको भनाइ छ ।