जनताको बचत रकम फिर्ता गर्ने प्रक्रियामा छौँ : उपमेयर श्रेष्ठ

२०८१ असोज ६ आइतबार १६:४४:०० मा प्रकाशित

भक्तपुर।  मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले जनताको बचत रकम फिर्ता गर्ने प्रक्रियामा रहेको बताएका छन्।  

आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको  “सहकारी क्षेत्रप्रति बढ्दो अविश्वास र भावी चुनौती” विषयक अन्तरक्रिया कार्यक्रममा उनले मध्यपुर थिमी नगरपालिका वडा नम्बर ३ मा अवस्थित कृषि विकास सहकारी संस्थालाई कार्यपालिकाबाट समस्याग्रस्त सहकारी घोषणा गरेर उक्त सहकारीको सञ्चालकहरूले बिभिन्न कम्पनीमा लुकाएर राखेको सम्पत्ति रोक्का गरि जनताको बचत रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको बताए। 

 उनले भने, “ नेपालको संविधानको अनुसूची ८ मा स्थानीय सरकारको अधिकार २२ ओटा बुँदामा स्पष्ट रुपमा लेखिएको छ। २२ ओटा बुँदाको  दोश्रो नम्बरमा सहकारी भनेर स्थानीय तहलाई एकल अधिकारमा दिइएको छ। एकल अधिकारमा दिइएको हुनाले हामीले ऐन त्यही हिसाबमा बनाउनुपर्ने हुन्छ, ऐन विना त् हामीले कार्यान्वयन गर्न सक्दैनौ, सहकारीको व्यवस्थापन गर्न सक्दैनौ।” उनले अहिले सहकारी प्रति आम जनतामा अविश्वास रहेको बताउँदै मध्यपुर थिमी नगरपालिकाले आफ्नै कार्यविधि बनाएको पनि उल्लेख गरे।  

कार्यक्रममा बोल्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्ण गोविन्द लाखाले सहकारीलाई जनताले अविश्वास गरेको नभई केही विकृति भने बढ्दै गएको बताए।  उनले भने, “अहिलेका केही सहकारीले सहकारीका सिद्धान्तलाई व्यवहारमा लागू गरेका छैनन्, सहकारी आफैँमा खराब थिएन, यो त्  एउटा समुदाय हो जसले समाजलाई उत्थान गर्ने गर्दछ। ” उनले सहकारी क्षेत्रमा अहिले विकृति बढ्दै गएकोले नियमन आवश्यक रहेको जानकारी गराए।  

त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला सहकारी सङ्घ लि. भक्तपुरका सचिव राम कासुलाले एउटै व्यक्तिहरू ४/५ ओटा फरक फरक सहकारीमा पदाधिकारीको रुपमा रहेको बताए।  उनले भने, “ कोहि उता सञ्चालक, उता व्यवस्थापक, कोही उता सचिव, उता उपाध्यक्ष छन्।” उनले त्यस्ता समस्याग्रस्त सहकारीले जिल्ला सहकारी सङ्घको ऋण पनि नतिरेको बताए।  

नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्व मा सम्पन्न कार्यक्रममा कार्यक्रमको सञ्चालन संस्थाको उपाध्यक्ष दिपेन्द्र राज खत्रीले गरेका थिए । कार्यक्रममा संस्थाका महासचिव केशव लुइँटेल, कोषाध्यक्ष अरुण महत र सचिव रूपक खड्काले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।