हवाई भाडादर नियन्त्रण गर्न सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

२०८१ असोज १३ आइतबार १५:१६:०० मा प्रकाशित

काठमाडौँ ।  निरन्तरको वर्षापछि मुलुकका विभिन्न जिल्लालाई राजधानीसँग जोड्ने राजमार्ग र सहायक सडक अवरुद्ध भएको मौका छोपेर विमान सेवा कम्पनीहरूले आफूखुसी हवाइ भाडा वृद्धि गरेकोलाई नियन्त्रण गर्न प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ । 

राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले आइतबार एकातिर प्राकृतिक प्रकोपले सडक अवरुद्ध भएको र अर्कोतिर चाडबाँडको समयमा काठमाडौंलगायतका ठूला सहरबाट घर जानेहरूको चाप बढ्ने भएकाले हवाइ भाडा बढाउने गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

राज्यव्यवस्था समितिमा नागरिकहरूले विभिन्न माध्यमबाट हवाइ भाडा अनियन्त्रित रूपमा चर्को बनाइएको भन्ने उजुरी आएपछि सरकारको सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको सभापति खतिवडाले बताए । 'अहिले महंगो दरमा मात्रै टिकट बेच्ने क्रम बढेको देखिएको छ ।

यो प्राकृतिक बिपत्ती र चाडबाँडको बेलाको गलत फाइदा लिने काम भएको देखिन आएको छ । मुलुक अप्ठ्यारोमा परेको बेलामा सबैले सहयोग गर्नुपर्नेमा उल्टै भाडा बढाउने र टिकटको संकट देखाउने काम भएको छ,' समिति सभापति खतिवडाले भने, 'धनगढीको भाडा १८ हजारसम्म पुर्‍याइयो, टिकट पाइन्न, टिकट लुकाइयो भनी नागरिक तहबाट समितिमा उजुरी आएका छन् । त्यसैका आधारमा सम्बन्धित मन्त्रालयलाई लिखित निर्देशन दिइएको छ ।'

सडक भत्किएर यातायात सेवा अवरुद्ध भएको अवस्थामा बढीभन्दा बढी हवाइ सेवा उपलब्ध गराउन पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराइएको सभापति खतिवडाले बताए ।