नेपाल प्रेस सोसाइटी द्वारा बरिष्ठ अधिवक्ता सम्मानित

२०८१ असोज २२ मंगलबार १८:०१:०० मा प्रकाशित

भक्तपुर। नेपाल प्रेस सोसाइटीले वरिष्ठ अधिवक्तामा पदोन्नति गर्न सफल भक्तपुरका ४ जना वरिष्ठ अधिवक्तालाई सम्मान गरेको छ।
मङ्गलवार सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको “शुभ विजयादशमी, दीपावली, छठ, तथा नेपाल संवत् ११४५ को सुखद अवसरमा शुभकामना आदान प्रदान, सम्मान तथा चियापान कार्यक्रम” मा बरिष्ठ अधिवक्ताहरू केदार अधिकारी, राजु खड्का, विवेक ढुङ्गेल र उत्तम श्रेष्ठलाइ प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, सन्तोष परियार र बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको उपस्थितिमा सम्मान गरेको हो।
कार्यक्रमको क्रममा प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाको विरोध गर्दै यसले लोकतन्त्रलाई कमजोर बनाउने बताए । उनले भक्तपुरको राजनीतिक परिदृश्यलाई स्मरण गर्दै यस किसिमको व्यवस्थाले तानाशाही प्रवृत्ति जन्माउने बताए।  उनले भने, “कसैले पनि संविधान विरोधी गतिविधि गर्न पाइँदैन, अहिले आशिका तामाङ भाइरल भएकी छन्, मलाई लाग्छ राज्यको उपस्थिति छैन। यो राज्य नै आशिका तामाङले चलाइरहेको परिस्थिति छ, त्यसकारण यहाँ राज्य छ कि छैन खोज्नुपर्ने अवस्था सिर्जना भएको छ, एकातिर बालेन त्यस्तै छन्, उनी महानगरको मेयर होलान् तर अर्कोतिर उपमेयर नि होलान् नि, जनप्रतिनिधिहरू छन्, बालेनलाई लत लागिराख्या छ, आफ्नो तरिकाले महानगर चलाइरहेका छन्। लोकतन्त्रमा यस्तो हुँदैन।  एकताका भक्तपुरमा पनि यस्तै हावा चलेको थियो,  सारा भक्तपुर बनाउने ठेक्का परेको थियो, कोही व्यक्तिले मैले मात्र देश बनाउँछु भनेर लाग्यो भने न मुलुक बन्नेवाला छ, न समृद्ध बन्नेवाला छ।  यो क्षणिक रमाउने मेलो मात्र हो। ” 

उनले बालेन शाहको कामको शैलीको आलोचना गर्दै व्यक्तिगत निर्णयले मात्र समृद्धि नआउने र यसले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउन सक्ने बताए।

प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बिषयलाई सत्ता परिवर्तनको खेलमा मात्रै प्रयोग गर्ने राजनीतिक दलहरूको नीतिमाथि गम्भीर प्रश्न उठाए। उनले संविधान संशोधनको कुरा सरकार ढाल्ने बेलामा मात्र प्रयोग गरिएको बताए। उनले भने, “जुन देशमा मौलिक हक अधिकार स्थापित हुन्छ त्यो देशको संविधानलाई असल संबिधान भनिन्छ।” उनले राज्यले संबिधान प्रदत्त मौलिक अधिकारहरुको कार्यन्बयनामा जोड निदिएको पनि बताए।  उनले नेपालको संविधानमा उल्लेख मौलिक हकहरूको संरक्षण र कार्यान्वयन नै सबैभन्दा महत्वपूर्ण भएको बताउँदै सरकारले यसमा ध्यान दिनुपर्नेमा जोड दिए।

त्यसैगरी बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले गरेको प्रगतिको बारेमा चर्चा गर्दै कमीकमजोरीलाई सुधार गर्न आफू लागिपरेको उल्लेख गरे। उनले बागमती प्रदेशमा स्वास्थ्य पूर्वाधारलाई सुदृढ बनाउन अढाई महिनाको अवधिमा प्रदेशका सबै १३ जिल्लामा अस्पतालको व्यवस्थापन र सेवाहरूलाई स्तरीय बनाउन ध्यान दिएको बताए। उनले भने, “स्वास्थ्य क्षेत्रमा केही कमी कमजोरी छन्, ति कमीकमजोरीलाई मैले यो अढाई महिनाको अवधिमा सुधार गर्न लागिरहेको छु।  बागमती प्रदेश सरकारले २५ शैयाको अस्पतालदेखि ३०० शैया सम्मको अस्पताल सञ्चालन गरेको छ।  १३ ओटै जिल्लामा प्रादेशिक अस्पताल छ।  यी अस्पतालमा आवश्यक जनशक्ति, कर्मचारी, उपकरण देखि सम्पूर्ण चिज यो अढाई महिनाको अवधिमा पुरा गरे। “ उनले भक्तपुर अस्पतालमा बिहान ८ बजेदेखि नै ओपीडी सेवा सञ्चालन गरेर जनतालाई सुलभ स्वास्थ्य सेवा दिने प्रयास गरिरहेको पनि जानकारी गराए।
सो कार्यक्रममा सञ्चारकर्मी केशव लुइटेलले आफ्नो कविता वाचन पनि गर्नुभएको थियो। 
सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रामकुमार खड्काले गरेका थिए ।