साढे ४ बर्षको अवधिमा सडक दुर्घटनामा परेर १५३० जनाभन्दा बढीले ज्यान गुमाए: मन्त्री थापा
भक्तपुर - बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले साढे ४ बर्षको अवधिमा सडक दुर्घटनामा परेर १५३० जनाभन्दा बढीले अनाहकमा ज्यान गुमाएको बताएका छन्।
आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले भने, “सूर्यविनायक मात्र नभई, जहाँ जहाँ हाइवे संग जोडिएका अस्पतालहरु छन्, त्यहाँ हामीले ट्रमा सेन्टरको रुपमा विकास गर्नुपर्छ भनेर लागिरहेका छौँ। आज साढे ४ बर्षको दौरानमा १५३० जनाभन्दा बढी सडक दुर्घटनाबाट मृत्यु भएको छ। धेरै मृत्यु समयमा अस्पताल पुर्याउन नसकेर भएको छ।"
मन्त्री थापाले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउनका लागि मापदण्ड तय गर्दै पोलिक्लिनिक तथा मेडिकलको अनुगमन गरिरहेको जानकारी पनि दिएका छन्। उनले यसपटक जम्मा ८०० कोटा भएको नर्सिङ्गमा ६४०० जनाले नर्सिङ्ग पढ्न फर्म भरेको उल्लेख गर्दै, नेपालमै नर्सिङ्ग पढ्ने उपयुक्त वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले १०० बेडमा संचालन भएका अस्पतालहरुमा नर्सिङ्ग पढाउने व्यवस्था ऐनमा पारित भएको बताए।
त्यसैगरी, उनले ३०० बेडमा संचालन भएका अस्पतालहरुले एमबिबिएस पढाउने व्यवस्था ऐनमा पारित भएको र आगामी वर्षदेखि पढाई संचालन हुने जानकारी पनि दिए।
मन्त्री थापाले भक्तपुरलाई देशकै सबैभन्दा सानो र धेरै जनघनत्व भएको जिल्ला बताउँदै, सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न सकेमा काभ्रे, सिन्धुपालचोक, रामेछाप, दोलखा र सिन्धुलीका बिरामीलाई पनि सेवा दिन सकिने बताए।
प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।