आर्किटेक्चर विषयका उत्कृष्ट विद्यार्थीहरू पुरस्कृत

२०८० चैत ३ शनिबार १५:१०:०० मा प्रकाशित

 

काठमाडौं । एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजयीहरु पुरस्कृत भएका छन् । एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एशियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ को ११ औं संस्करणका प्रतिस्पर्धीहरमध्ये उत्कृष्ट पाँंच जना विद्यार्थीहरु पुरस्कृत भएका हुन् ।

 

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा आर्किटेक्चर विषयका चौथो वर्षका विद्यार्थीहरूबीच सम्पन्न भएको प्रतियोगितामा १६ जना विद्यार्थी सहभागी रहेका थिए । सहभागीमध्ये उत्कृष्ट ५ विद्यार्थीलाई पुरस्कृत गरिएको हो । विद्यार्थीहरूलाई उत्प्रेरित गर्न उत्कृष्ट पुरस्कारहरूको व्यवस्था थियो ।

 

प्रतियोगितामा सुश्री पूजा राई सर्वात्कृष्ट विद्यार्थी हुन सफल भइन् । उनले नगद रु ५० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा फस्ट रनर अप सुश्री स्पर्श शर्मा भइन् र उनले नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । सेकेण्ड रनर अपमा सुश्री अंशु प्रजापति विजेता भई नगद रु १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । सान्त्वना पुरस्कार सुश्री सलिना थापा र सुवास चन्दले पाए । उनीहरुले नगद रु पाँंचपाँच हजार र प्रमाणपत्र प्राप्त गरे ।

 

आर्किटेक्चर विभाग नेक सन् २०१२ देखि एसियन पेन्ट्स नेपालसँग आबद्ध छ । यहाँं सन् २००८ ब्याचको लागि पहिलो एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिता आयोजना गरिएको थियो ।

नेपाल इन्जिनियरिङ कलेज राउण्ड डिजाइन प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट पाँच विजेताले राष्ट्रियस्तरको एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगितामा अन्य विभिन्न कलेजका उत्कृष्ट ५ आर्किटेक्चर विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । यस प्रतियोगिताको विजेताले भविष्यको हिरोको उपाधि प्राप्त गर्ने जनाइएको छ । शीर्ष १५ विजेताहरूले एशियन पेन्ट्स नेपालको वार्षिक क्यालेन्डर मार्फत आर्किटेक्चर उद्योगमा वास्तुकलामा एक्सपोजर पाउने छन् ।