प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

२०८१ जेठ २७ आइतबार १४:०५:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ प्रधानमन्त्रीका रुपमा शपथग्रहण गर्ने समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गरेका छन्। 

प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाई गरेका थिए। उनको बिदाईमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो।

प्रधानमन्त्री दाहालका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्। 

तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदको आज साँझ शपथ लिने कार्यक्रम छ। सो शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उनका समकक्षी मोदीबीच आज साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किने कार्यक्रम छ।