राजधानी मस्कोसहितका शहरमा भएको युक्रेनको ठूलो आक्रमण विफल पारेको रुसको दाबी

२०८१ भदौ १६ आइतबार १५:२५:०० मा प्रकाशित

युक्रेनले रुसको राजधानी मस्कोसहितका शहरमा ठूलो सङ्ख्यामा ड्रोन आक्रमण गरेको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले मस्कोतर्फ उडिरहेका कम्तीमा पाँच वटा ड्रोन नष्ट पारिएको बताउनुभएको छ । यस्तै स्थानीय अधिकारीहरूले ब्रान्स र वोरोनेज क्षेत्रमा उडिरहेका ४० वटा ड्रोन नष्ट पारेको दाबी गरेका बीबीसी हिन्दीले जनाएको छ ।

युक्रेनको अन्धाधुन्ध आक्रमणको बाबजुद निकै कम क्षति बेहोरेको रुसको दाबी छ । दुई वटा इन्धन स्टेशन र एउटा भवनमा मात्र क्षति पुगेको रुसी सरकारी अधिकारीहरूको भनाइ छ । तर रुसले युक्रेनी आक्रमणबाट भएको क्षतिको बारेमा कहिल्यै सही जानकारी नदिएको आरोप लाग्दै आएको छ ।

पछिल्लो समय युक्रेनले रुसमाथिको आक्रमण बढाएको छ । युक्रेनले रुसको कुर्स्क क्षेत्रको एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दाबी गरेको छ । तर रुसले पनि युक्रेनमा आक्रमण तीव्र बनाएको छ । युक्रेनको बारम्बारको अनुरोधपछि अमेरिका र नाटोबाट एफ–१६ प्राप्त गरेको थियो । तर रुसविरुद्ध प्रयोग भएको पहिलो दिनमै एउटा एफ–१६ विमान रुसले खसालिदिएको छ ।

यसैबीच युक्रेनले रुसको कुर्स्क क्षेत्र कब्जा गरेको भनेर रमाइरहँदा रुसले युक्रेनको मुख्य शहर पोक्रोभस्क कब्जा गर्ने सम्भावना बढेको छ । रुसी सेनाहरू युक्रेनको रणनीतिक शहर पोक्रोभस्क नजिकै पुगेका बीबीसीको खबरमा उल्लेख छ । यो शहर युक्रेनी सेनाको बन्दोबस्तीका लागि तथा प्रमुख रेल्वे स्टेशन र प्रमुख सडकहरूका लागि निकै महत्त्वपूर्ण छ ।

युक्रेनले पोक्रोभस्क शहर जोगाउन ध्यान केन्द्रित गर्नुपर्नेमा कुर्स्कमा सेना पठाएर गल्ती गरिरहेको भन्दै युक्रेनभित्रै राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको आलोचना भइरहेको छ । युक्रेनको सशस्त्र सेनाका प्रमुख जनरल ओलेक्जेन्डर सिरस्कीले रुसले आफूसँग भएका हतियार अन्धाधुन्ध प्रयोग गरिरहेको बताउनुभएको छ ।

यस्तै राष्ट्रपति जेलेन्स्कीले अवस्था अत्यन्तै कठिन भएको स्वीकार गर्नुभएको छ । सैन्य विशेषज्ञ मिखाइलो जिरोखोभले युक्रेनले पोक्रोभस्क गुमाएमा सम्पूर्ण अग्रपङ्क्ति ध्वस्त हुने चेतावनी दिनुभएको छ ।